काठमाडौं – असोज १८, २०८२- सरकारले आगामी आइतबार (असोज १९) र सोमबार (असोज २०) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । लगातारको वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै दुई दिनका लागि बिदा दिइएको हो । गृह मन्त्रालयले शनिबार साँझ सार्वजनिक सूचना जारी गर्दै बाढी, डुबान, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम उच्च रहेका कारण बिदा दिने निर्णय गरिएको जानकारी गराएको छ । सूचनामा भनिएको छ, “वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो ।”
मन्त्रालयका अनुसार विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् । निजी क्षेत्रमा पर्ने विद्यालय, कार्यालय तथा सेवाहरूलाई पनि यथासम्भव सेवा स्थगन गर्न र जोखिम न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरिएको छ । गृह मन्त्रालयले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विशेष अनुरोध गरेको छ । “देशका विभिन्न भू–भागमा भारी वर्षा भईरहेको र अझै शनिबार रातिदेखि आइतबारसम्म थप वर्षाको पूर्वानुमान रहेको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुनेछ,” सूचनामा भनिएको छ ।
मन्त्रालयले विपद्को सम्भावित असरलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको जनाएको छ । सम्भावित जोखिम भएका क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई खटाइसकिएको र आवश्यकता अनुसार उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा राखिएको बताइएको छ । देशका थुप्रै भागमा पहिल्यैदेखि लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका प्रमुख सडकहरूमा अवरोध सिर्जना भएको छ भने पहाडी भेगका धेरै गाउँहरूमा पहिरोको उच्च जोखिम देखिएको छ । यस अवस्थामा सार्वजनिक बिदा दिने निर्णयलाई नागरिक सुरक्षाको दृष्टिकोणले स्वागतयोग्य मानिएको छ । मौसमविद्हरूले पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।