१५ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र असन्तुष्ट नेताहरूले शनिबार काठमाडौंको सुकेधारामा छुट्टै भेला आयोजना गरेका छन्। पार्टी नेतृत्वको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै उनीहरू आज रणनीतिक छलफलमा जुटेका हुन्।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायतसँग एकता गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले असन्तुष्टि जनाएका थिए। खनालले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरिसकेका छन्।
शनिबारको भेलामा आगामी रणनीति र कदमबारे छलफल भइरहेको सहभागी नेताहरूले जनाएका छन्। सो भेलामा हालसम्म करिब ८४ जना नेता सहभागी भएका छन्।
भेलामा झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल र आरती लामा लगायतका नेताहरू उपस्थित छन्।