काठमाडौं, १६ मंसिर — एडम रोसिङटनको दमदार शतकको बलमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने आशा जिउँदो राखेको छ। पाँच खेलमा दोस्रो जित निकाल्दै पोखराले कुल ४ अंक बनाएको छ। यसअघि पोखराले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
२०२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली १९ ओभरमै १६७ रनमा अलआउट हुँदै पहिलो टिमका रूपमा प्लेअफ होडबाट बाहिरिएको छ। कर्णालीले अहिले सम्म ६ खेल खेल्दा एकमात्र जित हात पारेको छ।
कर्णालीको कमजोर प्रदर्शन
कर्णालीका ओपनर मार्क वाटले ५९ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नजिबुल्लाह जद्रानले २४, पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए। राम्रो सुरुवात पाए पनि बीचका ओभरमा विकेट गुमाउँदै टोली दबाबमा परेको थियो।
पोखराका बलर धनन्जय लक्षन र ऋषी धवनले ३–३ विकेट लिए। कप्तान कुशल भुर्तेल, सन्दीप खत्री क्षेत्री र किरण ठगुन्नाले १–१ विकेट हात पारे।
रोसिङटनको शानदार शतक
पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनायो। लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोसिङटनले ५८ बलमा अविजित १०८ रन प्रहार गरे, जसमा ११ चौका र ७ छक्का समावेश थियो। उनले १९औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै शतक पुरा गरे।
कप्तान कुशल भुर्तेल (१८ रन) र ज्यासन रोय (४६ रन) ले पनि महत्वपूर्ण योगदान दिए। रोय र रोसिङटनको दोस्रो विकेटका लागि १२७ रनको साझेदारी एनपीएलको यस सिजनको दोस्रो ठूलो साझेदारी हो।
कर्णालीका नन्दन यादव र मार्क वाटले १–१ विकेट हात पारे।
अब कर्णालीले लिगको अन्तिम खेलमा आइतबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।