काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको प्रधानमन्त्री बनेर गोरूझैँ जोतिएर जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘जेन–जीसँग अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको उल्लेख गर्दै नेतृत्वले इमानदार रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए।
महासचिव चन्दले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने स्पष्ट पार्दै जनताले विश्वास गरेमा कार्यकारी प्रमुखको जिम्मेवारी लिएर देशको सेवा गर्न तयार रहेको बताए। “म प्रधानमन्त्री भएर ऐसआराम गर्न होइन, गोरूझैँ जोतिएर देशका लागि काम गर्न चाहन्छु,” उनले भने, “देशलाई इमानदार नेतृत्व चाहिएको छ, जुन आजको आवश्यकता हो।”
तर उनले तोकिएकै समयमा निर्वाचन हुने विषयमा गम्भीर आशंका व्यक्त गरे। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निष्पक्ष र समयमै निर्वाचन गराउन सक्ने अवस्था नरहेको उनको भनाइ थियो। प्रहरी र कर्मचारीको मनोबल खस्किएको, लुटिएका हतियार अझै फिर्ता नभएको, राज्यको आर्थिक अवस्था कमजोर भएको तथा निर्वाचनका लागि आवश्यक बजेटको अभाव रहेको कारण देखाउँदै उनले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाए।
महासचिव चन्दले मुलुकको वर्तमान संकट समाधानका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए। सबै राजनीतिक दल र शक्तिहरूको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनेर मात्र देशलाई निकास दिन सकिने उनको भनाइ थियो। साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने धारणा पुनः दोहोर्याए। “देशले अब बलियो र प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी नेतृत्व खोजेको छ,” उनले भने।
उनले जेन–जी आन्दोलनका मागहरू पनि मूलतः यही व्यवस्थासँग जोडिएको बताए। भ्रष्टाचारविरुद्ध कडा कारबाही, सुशासन र जनउत्तरदायी शासन जेन–जीको मुख्य माग रहेको उल्लेख गर्दै वर्तमान सरकारले ती मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाए। “यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैन, न त जेन–जीका जायज माग पूरा गर्न सक्छ,” उनले भने।
महासचिव चन्दले निर्वाचनमार्फत नयाँ राजनीतिक शक्तिको उदय आवश्यक रहेको बताए पनि पुरानै शक्तिहरू पुनः सलबलाउन थालेकोमा चिन्ता व्यक्त गरे। “जनताको चाहना परिवर्तन हो, तर पुराना शक्ति फेरि पनि सत्ता कब्जा गर्ने प्रयासमा छन्,” उनले भने।
कार्यक्रममा उनले युवापुस्तालाई सचेत, संगठित र जिम्मेवार बन्न आह्वान गर्दै देश परिवर्तनको मुख्य शक्ति युवाहरू नै भएको बताए। “जेन–जी केवल आन्दोलन होइन, यो परिवर्तनको आवाज हो,” उनले भने, “यसलाई सही दिशामा लैजान सके देशको भविष्य सुरक्षित हुनेछ।”