यदि स्वार्थ अनुकुल देशलाई चलाउने खेल हुन्छ भने त्यसको प्रतिरोध नेकपाको नेतृत्वमा हुन्छ -महासचिव विप्लव सी

काठमाडौं – प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा नेतृत्वको सरकार बनेको छ । संसदका दुई ठूला दल कांग्रेस एमाले मिलेर सरकार बनेपछि थरिथरीका विश्लेषणहरु भइरहेका छन् । कसैले कांग्रेस एमाले मिलेर संविधान संशोधन गर्दै देशलाई प्रतिगमनको दिशातिर धकेल्न खोजेको आरोप लगाएका छन् भने कसैले देशमा स्थायित्व र विकासका लागि ठूला पार्टीहरु मिलेर स्थिरता कायम गर्न खोजेको बताउने गरेका छन् । बंगलादेशमा विद्यार्थीको आवरणमा भएको आन्दोलनका कारण निर्वाचित प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भाग्नुपरेको छ । देशभित्र र बाहिर भएका राजनीतिक फेरबदलका बिचमा नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसकेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा मसिनोगरी छलफल भएको बताइएको छ । पहिल्लो राजनीतिक घटनाक्रम, नेकपा स्थायी समिति बैठक, नेपालमा बढेको वैदेशिक हस्तक्षेप लगायतका विषयमा केन्द्रीत रहेर पत्रकार शोभराज बरालले नेकपा महासचिव विप्लव सीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

बिज्ञापन
No data was found

– महासचिव कमरेड यहाँलाई जनपत्रिका अनलाइनमा स्वागत छ ।

बिज्ञापन

धन्यवाद !

बिज्ञापन

१ )देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?

– यसबारेमा भर्खरै सम्पन्न पार्टीको स्थायी समिति बैठकले केही निर्णय गरेको छ । खासमा हामीले ५ वटा बुँदाहरुमा यसलाई संश्लेषण गरेका छौं । पहिलो नम्बरमा नेपाल दलाल पुँजीवाद र पुँजीवाद संसदीय व्यवस्था असफल भइराखेकै छ । संकटग्रस्त छ । जसले बेलाबेलामा विभिन्न खालका समस्याहरु ल्याउँछ । दोश्रो, नेपालको राजनीतिमा दलाल प्रवृत्ति हाबी हुँदै जाँदा साम्राज्यवादी हस्तक्षेप, विशेषत अमेरिकी साम्राज्यवादी हस्तक्षेप दिनानुदिन बढ्दै गइरहेको छ । त्यसले ठूलाठूला समस्याहरु निम्त्याइरहेको छ ।

तेश्रो कुरा, अन्य शक्तिहरु पनि नेपालमा सक्रिय भइरहेका छन् । चौथो, नेपालमा सत्ताका लागि जे पनि गर्ने स्वार्थी, सत्तावादी प्रवृत्ति देखापरेको छ । पाँचौंमा, नेपाल कम्युनिस्ट पार्टीको दायित्व बढेको छ । नेपाली जनताको बिचमा देखिएको अग्रगामी शक्तिहरु र पश्चगामी शक्तिहरु बिचको जुन धुव्रिकरण छ । त्यसमा नेकपाले अग्रगामी धारको नेतृत्व गर्दै देशलाई निकासतिर लैजानुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।

३) पार्टीको स्थायी समितिको बैठक हालै सम्पन्न भएको खबर छ । बैठक बस्नुपर्ने कारण के थियो ?
– देशमा बदलिएको राजनीतिक सन्दर्भको विश्लेषण गर्नु, त्यसको बारेमा जनतालाई पार्टीको धारणा स्पष्ट पार्नु, जनता र देशलाई अग्रगामी आन्दोलनतिर लिएर नेतृत्व गर्नुसँग सम्बन्धीत छ ।

४) नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको वामपन्थी सरकार ढलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको अर्को सरकार बनेको छ । एउटा सरकार ढलेर अर्को सरकार बन्नुमा विदेशी शक्तिको हात रहेको भन्ने गरिन्छ । यसको केही आधार देख्नुभएको छ ?
– प्रचण्डको सरकार ढल्नुमा विदेशीको हात पनि छ तर नेपाल भित्रकै शक्ति संघर्षको मुख्य प्रभाव छ । खासगरी एउटा वामपन्थी गठबन्धनको सरकारलाई हामीले पनि प्रगतिशील सरकार भनेका थियौं । त्यो चाँहि ढल्यो र वामपन्थी मध्येकै एमालेको नेतृत्वमा कांग्रेस सम्मिलित सरकार बनेको छ । वामपन्थीको तुलनामा हामीले यसलाई पश्चगामी सरकार भनेका छौं । नयाँ सरकार बनेको विषयमा तीन वटा तर्क आएका छन् । माओवादीको दृष्टिकोणमा प्रतिक थापा र वेचन झा समातेपछि, सुशासनको लडाई अगाडि बढाएपछि सरकार ढल्यो भन्ने छ । प्रचण्ड इण्डिया गएर मोदीसँगको छलफलमा काँग्रेससँग नयाँ गठबन्धनको सरकार र राष्ट्रिय सहमतिको सरकारको बारेमा छलफल गरेपछि प्रचण्डभन्दा पहिला आफूले कदम चालेको हो भनेर एमालेले भनेको छ । कांग्रेसले चाँहि व्यवस्थामै शंकट पैदा हुन थालेपछि स्थिरताको लागि, संविधानको रक्षाका लागि एमालेसँग मिलेर जानुपर्ने भयो भन्ने तर्क गरेको छ । यी तीनवटै तर्कहरु आंशिक सत्य हुन् । नेपालमा मुख्य संसदीय व्यवस्थाको संकट हो, सत्तालिप्साका निम्ति जे पनि गर्ने दोश्रो कारण हो, साम्राज्यवादी विदेशीहरुको चलखेल तेश्रो कारण हो । यो पटकको सरकार ढल्ने र बन्नेमा स्वभाविक रुपमा अमेरिकनहरुको प्रभाव बढी देखिन्छ । यसलाई हामीले स्पष्ट रुपमा भनेकै छौं । जनता यसमा सचेत हुन जरुरी छ ।

५) यो सरकारले जनताका आशा र अपेक्षाहरु पुरा गर्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
– नेपालमा सत्ता नै आजका समस्याहरुको श्रोत हो । जनताको सत्ता बनेको छैन, श्रमिक जनताहरुले अपनत्व फिल गरेका छैनन् । नेपालमा मेहनेति जनता छन्, जाति छन्, वर्ग छन्, लिङ्ग छन्, क्षेत्र छ यी कसैले पनि आफ्नो सत्ता छ भनेर महशुस गरेका छैनन् । यो सत्ता रहेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि एउटा निश्चित समयपछि यो क्षतविच्छेद हुन्छ । विकृति निम्त्याउन बाध्य छ ।

६) भारतबाट भएको विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी उच्च अधिकारीहरूको गुपचुप भ्रमणको तयारी भइरहेको बजार हल्ला पनि छ । नेपालमा अप्रत्यासित घटनाको सम्भावना देख्नु हुन्छ ?
– विश्वव्यापी राजनीतिक ध्रुवीकरणको प्रभाव नेपालमा एकदमै छ । हामीले पहिला पनि दस्तावेजमा लेखेका छौं, ‘ध्रुवीकृत विश्वको प्रभाव नेपालमा तिब्र छ ।’ त्यसको कारण के छ भने नेपालका राजनीतिक पार्टीहरुको सत्ताको÷कुर्सीको चाहना त छ तर देश र जनताको चाहना अनुकुल सत्ता संचालन गर्ने, नेतृत्व गर्ने क्षमतामा कमि छ । यसले गर्दा उनीहरु सत्तामा पुग्नका लागि र टिक्नका लागि विदेशी शक्तिलाई आड बनाउने वा भित्र्याउने गरेका छन् । त्यसले देशलाई झन् कमजोर बनाएको छ । मैले अघिपनि भने नेपालमा विदेशीको प्रभाव त छ तर नेपाली राजनीतिमा देखिएको दलाल प्रवृत्ति डरलाग्दो छ । आफू चल्नका लागि, सत्तामा पुग्नका लागि र टिक्नका लागि वाह्य शत्तिलाई आमन्त्रीत गर्ने र उसैको भरोसामा चल्ने जुन दलाल प्रवृत्ति छ त्यो पनि त्यत्तिकै जिम्मेवार छ । यदि नेपालका दलालहरुले विदेशी शक्तिलाई आमन्त्रीत नगर्ने स्थिति हुँदा, नेपाली जनताको फैसलालाई सर्वस्वीकार्य बनाउने स्थिति रहँदा यो अवस्था आउने थिएन ।

जहाँसम्म तपाईंले राखेको प्रश्नमा भारतीय विदेश सचिव, एमसीसीका प्रबन्ध–निर्देशक केभिन मिचेलको भ्रमण जुन छ, यो देखिएको मात्र हो । यहाँ कोठा–कोठामा, नेताहरुको घर–घरमा क्याम्पियनहरु, विभिन्न खालका भेटघाटहरु चलिरहेको कुरा हामीलाई राम्ररी जानकारी छ । यहाँको कर्मचारी, प्रशासक, व्यापारी, नेता, न्यायधीश, सबै कमाण्डरहरुलाई भेट्ने, प्रभावित पार्ने, प्रलोभित बनाउने र विचलित गर्ने काम निकै तिव्र रुपमा भइरहेको छ । योप्रति जनता एकदमै सचेत हुन जरुरी छ ।

(७) विदेशी हस्तक्षेप रोक्नेबारे पार्टीका कार्यक्रमहरु के छन् ? जनतालाई अपिल पनि गर्नुहुन्छ कि ?
– पहिलो कुरा हामीले एकदमै बुझ्नु पर्ने र जनतालाई बुझाउनु पर्ने कुरा के हो भने ‘हाम्रो देशमा साम्राज्यवादीको घुसपैठ एकदमै छ ।’ बाहिर देखिने बेलामा हाहा र हुहु, हावाका लहरा जस्ता जुन देखा पर्छन्, कसैलाई राम्रो भनेको छ, कसैलाई रातारात माथि पु¥याएको छ, कसैलाई तल झारेको छ, कसैलाई जेल हालेको छ, यी सबै घटनाक्रमहरुमा साम्राज्यवादीहरुको चलखेल तिव्र छ र नेपाली जनतालाई निर्णयविहिन बनाउने, अन्यौलतामा फसाउने, भ्रमित पार्ने र आफ्नो स्वार्थसिद्ध पार्ने साम्रज्यवादीको खेल तिव्र छ । त्यसैले हाम्रो पार्टीले तीन वटा उपायहरु अगाडि सारेको छ ।

नम्बर १ – बाहिर देखिने कुरा र भित्र छिपेका सत्य कुरा जनतालाई भन्नुपर्छ । देखिने विभिन्न हल्लाहरु यहाँ चल्छन् ः एकचोटी रवि, रवि, रवि भनेर आयो, एकचोटी बालेन बालेन बालेन भनेर आयो, एकचोटी को स्वतन्त्र व्यक्तित्व, को वैज्ञानिक, को बुद्धिजिवि, को को को को‘.। यी सबै सत्य होइनन् । अलि–अलि सत्य हुन् तर नेपाललाई विचलित गर्ने प्रचारवाजी हुन् । अहिलेको सूचना माध्ययमलाई प्रयोग गरेर नेपालमा जसले दुःख गरेको हो, जसले लडेको हो, जसले जनताको लागि रातदिन मेहनत गरेको छ, जेल, नेल सहेको छ, जसले अहिले पनि संघर्ष गरेको छ त्यसलाई छोडेर जुन हल्ला गरिदैछ यो चाँहि नयाँ युनेश (बंगलादेशमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने व्यक्ति) जन्माउने खेल हो । दलालहरु खडा गर्ने योजना हो । त्यसका विरुद्धमा हामीले भण्डाफोर गर्नुपर्छ । हामीले के भनेका छौं भने, ‘आजको दिनमा अमेरिकी हस्तक्षेप र उसले चालिरहेका कदमहरुलाई सर्वाधिक जोखिमपूर्ण, खतरायुक्त कदमहरु छन् ।’ यस्ता कुराहरु नेपाली जनताले बुझ्नुपर्छ । बाहिर चलाइएको हल्लाहरु कृतिम हल्लाहरु हुन् । यो कुरा नेपाली जनताले बुझ्न र ग्रहण गर्न जरुरी छ ।

नम्बर २ – नेकपालाई कुनै पनि मुल्यमा विदेशी हस्तक्षेप र उनीहरुको दवाव स्वीकार्य हुँदैन । जनतालाई हामी सचेत गर्छौं । यदि कसैले हाम्रो देशमाथि सैन्य अखडा खडा गर्ने, हस्तक्षेप गर्ने, आफ्नो स्वार्थ अनुकुल देशलाई चलाउने खेल हुन्छ भने त्यसको प्रतिरोध नेकपाको नेतृत्वमा हुन्छ । पार्टीले गर्छ भनेर हामी जनतालाई भन्न चाहन्छौं ।
नम्बर ३ – आजको विश्वमा एक ध्रुवीयता सम्भव पनि छैन, कुनै पनि विदेशीले शक्तिको इसारामा चल्न सम्भव पनि छैन । जहिलेसम्म नेपालका शासकहरु अरुको इसारामा चल्छन् त्यहिलेसम्म नेपाल अस्थिरता, अराजकता, संकटबाट मुक्त हुन सम्भव छैन । देश झन् ठूलो भड्खालोमा, झन् ठूलो संकटमा जाकिन अनिवार्य छ । त्यसकारण नेपाललाई आत्मनिर्भर ढंगले संचालन गर्ने, नेपाललाई स्वाधिन प्रकारले अगाडि बढाउने आँट हामीले गर्नुपर्छ । यसका लागि हामी सम्पूर्ण जनता र आउँदै गरेको नयाँ पुस्तालाई अपिल गर्ने र जनतामा जाने सोचेका छौं ।

८) बंगलादेशको घटनाले दक्षिण एशिया तरङ्गीत छ । नेपालले त्यसबाट सिक्नुपर्ने पाठ के हो ?
– यसमा दुई वटा पाटाहरु छन्, एउटा आन्तरिक पक्ष र अर्को बाह्य साम्राज्यवादी शक्तिको पक्ष । विश्वमा जतिपनि पुँजीवादी मुलुकहरु छन्, गरिब र अविकशित देशहरु छन्, त्यहाँभित्रका सत्ताहरु आफैंमा कुनै न कुनै देशबाट संचालित या जनताको इच्छा विपरित चल्ने गरेका छन् । र पुँजीवादीहरुको हित अनकुल गएका छन् । त्यहाँका युवा, विद्यार्थी, जागरुक राष्ट्रवादी शक्तिहरूलाई चिड्याउने गरेको छ । उनीहरुका चाहनाहरुलाई सम्बोधन गर्न सकेका छैनन् । आन्तरिक पक्ष यो हो । दोश्रो त्यहाँ हुने असन्तुष्टि र समस्याहरुबाट फाईदा लिएर साम्राज्यवादी शक्तिहरुले चलखेल गर्छन् । बंगलादेशमा अमेरिकाले आइपीएस अन्तरगत नै सामरिक महत्व बोकेको सेण्ट मार्टिन टापुमा आफ्नो सेनाको टुकुटी राख्न चाहेको, शेख हसिनाले अस्वीकार गरेर बिआरआइसँग हात मिलाएपछि उचालिएको हो भने उनले नै मुख खोलिन् । त्यहाँ केही एनजिओ आईएनजिओको हात पनि छ भन्ने कुरा बाहिर आइसकेको छ । यसले के देखाउँछ भने, स्वार्थ नमिल्ने वित्तिकै आफ्नै प्रतिनिधिलाई पनि उलटफेर गर्ने, सत्ताच्युत गर्ने, उस्तै पर्यो भने जेल हाल्ने, समाप्त पारिदिने, मार्नेसम्मको काम साम्राज्यवादले गर्दै आएको हामी देख्छौं । त्यसको एउटा सिकार बंगलादेश पनि भयो भन्ने हामीले बुझेका छौं ।

यसबाट फेरि पनि नेपालीले सिक्नुपर्ने पाठ के हो भने, ‘हाम्रो देशको सु–व्यवस्था, संचालन भित्रैबाट संचालन गर्ने आँट गर्नुपर्छ । नेपाली जनताकै प्रतिनिधि, नेपाली जनताकै स्वच्छ निर्णय र नेपालकै पार्टीहरु जसले नेपालकै माटोमा खुन–पसिना बगाएर काम गरिरहेका छन् । उनीहरुकै बुद्धिविवेकले देश चलाउनेगरी सोच्नुपर्छ, यहाँका विज्ञहरु, बुद्धिजीविहरु, यहाँका युवाहरु, आउँदै गरेको नयाँ पुस्ता, विद्यार्थी सबैले यसरी सोच्नुपर्छ । कुनै पनि विदेशी शक्तिको इसारामा नाच्ने स्थिति बन्न दिनुहुँदैन । अरुको पुरस्कारमा, अरुले पुरस्कृत गरेको तालमा, नचाएको तालमा, डम्फु ठोकेको तालमा नेपालका बुद्धिजीविहरु, जानुहुँदैन हामीले भन्नुपर्छ ।’

दोश्रो कुरा आजको विश्वमा हामीले सहकार्य गर्नुपर्छ । कुनै पनि देशहरुबाट, विश्वबाट अलग भएर बस्छौं, कुनै पनि देशसँग सम्बन्ध राख्दैनौं भन्ने कुरा सहि होइन । तर हाम्रो देशको स्वाधिनता, स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्नुपर्छ । कसैको पनि कट्पुतली बनेर सत्तामा बस्छु भन्ने स्वार्थ हामीले पालेर बस्नु हुँदैन । यो दुईटा कुरा नेपाली जनताले राम्रोसँग बुझेर सहयोग गर्नुपर्छ ।

९) समाजवादी सोर्चाको संयोजक पनि हुनुहुन्छ । वामपन्थी तथा देशभक्त शक्तिहरुको एकता र सहकार्यलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
– हाम्रो एकदमै सु–स्पष्ट नीति छ । पार्टीको स्थायी समितिमा पनि हामीले भन्यौं । विचार मिल्ने, दृष्टिकोण मिल्ने, कार्यक्रम मिल्ने माओवादी धाराको साथीहरुसँग एकता गर्नुपर्छ । हाम्रो स्पष्ट दृष्टिकोण यो छ । तर एकता गर्दाखेरी अहिलेसम्म प्रयोग भएका विचार, नीति, नेतृत्व सबैको स्वच्छ विश्लेषणसहित गर्नुपर्छ । काम गर्ने वातावरणसहित एकता गर्नुपर्छ भन्ने एउटा कुरा छ । दोश्रो कुरा नेपालका कम्युनिस्ट, समाजवादी र देशभक्त, गणतन्त्रवादीहरुसहित मोर्चा बनाएर सहकार्य गर्नुपर्छ भन्ने छ । तेश्रो कुरा, हामीले अन्तराष्ट्रिय क्षेत्रमा समाजवादी धारासँग साम्राज्यवाद र एकाधिकारवाद विरोधी, एकध्रुवीय मानसिकता विरुद्ध संगठित भएर संघर्ष गर्दै अगाडि बढ्नुपर्छ भन्ने निश्कर्ष हाम्रो छ ।

१०) अन्त्यमा केही भन्नुहुन्छ ।
– नेपालको युवा पुस्ता, हाम्रो छोराछोरीहरु, विद्यार्थी, नयाँ पुस्ता, श्रमिक जनता, देशभक्त बुद्धिजीविहरु, व्यवसायीहरु, प्रशासकहरु, सेनाका कमाण्डरहरु, प्रहरीका अफिसरहरु सबैलाई अपिल के छ भने, ‘नेपाल अलिकति अफ्ठ्यारोमा छ तर निरासै हुनुपर्ने र हामी खतमै भयौं भनेर सोच्नुपर्दैन । नेपालमा दुई वटा प्रवृत्तिका बिचमा संघर्ष छ । एउटा पश्चगमन र अर्को अग्रगमन । अग्रगामी धार भनेको प्रगतिशील धार हो, नेपाल र नेपाली जनताको हित अग्रगामी धारासितै छ । त्यसकारण एकचोटी राम्रोसँग मिलेर गरौं । तपाईं हामीले देशलाई अगाडि बढाउने गरेर सोचौं । देशलाई अगाडि बढाउन सकिन्छ, विदेशीको दबाबमा लोभ–प्रलोभनका पर्नु हुँदैन, देशभित्र पनि हामी सबैले प्रगतिशील भएर सोच्नुपर्छ । जनपत्रिकामार्फत सिंगो देशलाई यहि अपिल गर्न चाहन्छु ।

जनपत्रकार शोभराज बरालले जनपत्रिका अनलाइनका लागि नेकपा महासचिव विप्लव सीसँग गरेको कुराकानीको सम्पादित अंश सान्दर्भिक भएकोले प्रकाशन गरिएको हो – सम्पादक

 

 

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण