समाजवाद स्थापनाको लागि सवै कम्युनिस्टहरु एक हुनुपर्छ
नेपालको अन्तरविरोध परिवर्तन भएको छ । नेपालमा पहिला भारतिय साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप थियो भने अमेरीकाले आफ्ना प्रतिनिधिहरु मार्फत अप्रत्यक्ष हस्तक्षेप गरिरहेकोमा अहिले त्यो परिवर्तन भएर अमेरिका प्रत्यक्ष हस्तक्षेपमा उत्रेको छ आफ्ना सेना र एमसीसी प्रोजेक्ट लिएर आएको छ । संसारका प्राकृतिक स्रोतसाधन सवै कव्जा गर्ने उसको हेपाहा दृष्टिकोण छ । नेपालमा अहिले एकपार्टीले मात्र लडेर अन्तरविरोधको समाधान दिन सकीने अवस्था छैन । नेपालमा अहिलेको अन्तरविरोधको हल गर्न कम्युनिस्ट,समाजवादी,लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त शक्तिहरुको वलियो एकता चाहिएको छ । यो एकताले मात्र अहिलेको अमेरिकी साम्राज्यवादको हस्तक्षेपका विरुद्ध प्रतिरोध गर्न सकिनेछ ।
अहिले देश निकै गंभीर अवस्थामा छ । पुँजीवादी त्तत्वहरु मुख्यतः भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद–युरोपियन साम्राज्यवाद–भारतीय साम्राज्यवाद र नेपालका दलाल पुँजीवादी शक्तिहरु नेपालमा दलाल पुँजीवादको असफलता र संकटलाई दलाल पुँजीवादी सत्ता सुदृढकै लागि प्रयोग गर्ने षड्यन्त्रमा लागिरहेका छन । त्यसका लागि उनीहरुले सत्ता संकटलाई पुराना संसद्वादी पार्टी र पात्रहरुको असफलता बताउँदै, नयाँ पुँजीवादी संसदवादी दल र पात्रहरुलाई अगाडि ल्याउने, गैरकम्युनिस्ट जनमत भत्काएर कम्युनिस्ट मत वृद्धि गर्ने, पुराना गठबन्धन भत्काएर नयाँ गठबन्धन सृजना गर्ने, पुराना दलालहरुको ठाउँमा नयाँ दलालहरु खडा गर्ने र जनतालाई भ्रमित गरेर क्रान्तिलाई अबरोध गर्ने चाल प्रयोग गरिरहेका छन् । पछिल्लो समय उदय भएका नयाँ पार्टीहरु र सत्ताको लागि उनिहरुले गरिरहेको वार्गेनिङ् अथवा सरकारमा भएको सहभागिताले पुरानो पार्टी काग्रेसमा भएको रुवाबासी विरोधको नाममा गरेका विरोधले यही तथ्य उजागर गर्दछ ।
संसदिए व्यवस्था प्रति जनता असन्तुष्ट बनिरहेको तर क्रान्तिद्धारा समाजवाद नआईसकेको अवस्थामा प्ुँजीवादी संसदिय व्यवस्थामा नै जनताले चित्त वुझाउनु पर्ने अवस्था छ । तर त्यस्तो विकल्पले जनतालाई अन्ततः सन्तुष्ट बनाउन नसक्ने र क्रान्तिकारी विकल्पमा केन्द्रित हुन आइपुग्ने परिस्थिति बन्ने निश्चित छ । रवि लामिछानेले “व्यवस्था होइन अवस्था फेर्ने” भनेर दिएको अभिव्यक्तिले स्पष्ट गर्दछ कि उनीहरु देशको राजनैतिक एवं दीर्घकालिक विकल्पमा जाने सम्भावना त कमै देख्रिन्छ तर समाजवाद ल्याउँ भन्दा फर्की हाल्ने अवस्था छैन । उनिहरुको परिपक्क राजनितिक धरातल छैन केवल शहरीया युवा पुस्ताको गतिशील चाहना र हुटहुटीको अस्थायी परिणाम मात्र हुन, अन्तिममा सवैमा यो संसदिय व्यवस्था नै संकटको मूल कारण भएको चेतना बन्न पुग्नेछ, र सवै समाजवादको निर्वीकल्प यात्रामा अनिवार्य जानुपर्ने अवस्था आउँदै छ ।
विश्वमा चलिरहेका युद्धका कारण बढ्दै गएको आर्थिक मन्दी र नेपालमा दलाल पुँजीवादी सत्ताको परनिर्भर अर्थसम्बनधका कारण नेपाली अर्थतन्त्र संकटतिर धकेलिरहेको छ । अत्यधिक आयात, व्यापार घाटा, चल पुँजीको अभाव, उत्पादनमा कमी, निगम एवं दलाल पूँजीको अतिक्रमण जस्ता कारणले साधारण नागरिक मात्र होइन उद्योग व्यवसायी, व्यापारी वर्ग पनि छट्पटाउन थालेका छन् । यसले राजनैतिक क्षेत्रमा समेत चरम अस्थिरता ल्याउने अवस्था बनिरहेको छ । देशको अर्थराजनैतिक वस्तुस्थितिले केही गंभीर चुनौंति ल्याउने छ भने केही अवसर पनि प्राप्त हुनेछन् । चुनौति दुईवटा देखिन्छन् भने अवसर पनि त्यतिकै छन् । पहिलो चुनौंति विदेशी साम्राज्यवादी, पुँजीवादीहरुको हस्तक्षेप, चलखेल र अतिक्रम बढेकोछ, दोस्रो देशभित्र लेनदेन, साँठगाँठ, भ्रष्टाचार, यथास्थिति, अराजकता, स्वयच्छाचारिता, दलालीकरण बढेकोछ । दुवै समस्यालाई क्रान्तिकारी शक्तिले नरोक्ने हो भने देश झन धेरै नवऔपशीकरण बन्ने, आर्थिक रुपले टाटपल्टिने, अराजकता र असुरक्षा बढ्ने खतरा छ । यसको सहि समाधान दिन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय एकता आजको आव्यश्यक्ता टट्कारो वनिरहेको छ र समाजवाद नै आजका तमाम समस्याहरुको सहि समाधान दिने अचुक व्यवस्था हो भन्ने सवै पक्षेमा अनिवार्य परेको छ जुन समाजवादीहरुको लागि यो सकारात्मक कुरा हो ।
हरेक संकटले संघसँगै अवसर पनि वोकेर आएको ह्ुन्छ अहिलेको संकटले ल्याएका अवसर पनि निकै महत्वपूर्ण छन् । पहिलोमा जनतालाई संसदीय व्यवस्थाको विरुद्ध अग्रगमन, परिवर्तनतिर डो¥याउन सहज हुनेछ, दोस्रो राष्ट्रिय स्वाधीनताको पक्षमा देशका प्रगतिशील, वामपन्थी, देशभक्त शक्तिहरुलाई विगतमाभन्दा फराकिला मोर्चामा आबद्ध गर्ने संभावना बढेर गएकोछ । क्रान्तिकारीहरुले चुनौतिहरुलाई गंभीरप्रकारले लिदै अवसरहरुलाई सफलतामा बदल्न जोड दिनु पर्दछ र नेपालको हकमा कम्युनिस्टहरु आजको दिनसम्म सफल नै देखिन्छन ।
आजको विश्व परिस्थिति विस्फोटक अन्तर्विरोधहरु, तनाव र युद्धबाट गुज्रिरहेको छ । बहुशक्ति केन्द्रहरु आ–आफ्नो शक्ति सुदृढ गर्न र धु्रव बलियो बनाउन तल्लिन छन् । रुसले निरन्तर अमेरिकी एकधु्रवीयताका विरुद्ध कडा अभिव्यक्तिका साथ सङ्घर्ष गरिरहेको छ, चीनले अमेरिकी एकधु्रवीय प्रवृत्ति र संरक्षणवादका विरुद्ध सङ्घर्ष चलाइरहेको छ भने व्रिटेन, युरोप, भारत, टर्की, इरानआदिले आ–आफ्ना धारणाहरुसहित सङघर्ष गरिरहेका छन् । युक्रेन युद्ध नयाँ चरणमा प्रवेश गरेको छ, ताइवान तनाव चर्किदो छ, चीन र भारतबिचका पनि सङ्घर्ष कायमै छ । युद्ध, तनावको कारण विश्व अर्थतन्त्रमा मन्दी देखा परिरहेको छ । आर्थिक मन्दी बढ्दै गएमा नेपाल जस्ता गरिब देशहरुले राजनैतिक र आर्थिक क्षेत्रमा अपूर्व संकट र विपत्तिहरु भोग्नु पर्ने वाध्यकारी अवस्था पैदा हुँदैछ ।
साम्राज्यवादी शक्तिहरुबिचका सङ्घर्ष र युद्धले साना देशहरुका राजनैतिक अस्तित्व संकटमा पर्ने खतरा छ भने आर्थिक रुपले टाट्पल्टिने चुनौंति छ । सारमा साना तथा गरिब देशहरुले नवउपनिवेशको खतरा खेप्नुपर्ने हुन सक्छ । यदि विश्वका कम्युनिस्टहरुले आ–आफ्ना देशका विशिष्टतालाई वस्तुवादी प्रकारले पकडेर क्रान्तिको तयारी गर्न सके विश्वमा साम्राज्यवाद–दलाल पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्ने राम्रो संभावना छ । कम्युनिस्टहरुले विश्वको यो विशेषतालाई नेपाली क्रान्तिमा बदल्न निरन्तर लाग्नु पर्दछ । अहिले नेपालका सवै कम्युनिस्ट,वामपन्थी,लोकतन्त्रवादी र देशभक्त शक्तिहरु एक हुने अवस्था आएको छ । नेपालवाट संसदिय व्यवस्था फालेर समाजवादी व्यवस्था सथापना गर्ने नेपालका कम्युनिस्टहरुका विचमा एक सुनौलो अवसरका रुपमा आएको छ । यतिवेला हामीले एकता नगरे आम्रो अवसर पुरै पूँजीवादीहरुले लुट्नेछन र जनताको चाहानामा कुठाराघात हुने छ । अहिले सवै कम्युनिस्ट पार्टीहरुका सानातिना कम्जोरिहरुलाई माफि दिएर सवै एक हुन जरुरी छ । व्याक्तिगत दोष थुपारेर एकअर्कामा वैमनस्यता प्रगर्ट गर्ने होईन की हामीसवै एक भएर समाजवाद स्थापना गर्यौं भने हामी कम्युनिस्ट भएको अर्थ रहेने छ र नेपालमा निकट भविश्यमा समाजवादी व्यवस्था स्थापना हुन कसैले रोख्न सक्ने छैन । समाजवादका लागि कम्युनिस्ट एकता आजको आवश्यक्ता हो र यसलाई नेपालका सवै कम्युनिस्टहरुले मनन गर्नुपर्छ ।


