गौरा विशेष कार्यक्रम हेर्न आएका दर्शकले नेताहरुविरुद्ध चोरदेखि देश छोडसम्मका शब्द प्रयोग गर्दै नाराबाजी गरे । उपस्थित सर्वसाधारणहरुले आफूहरुविरुद्ध नाराबाजी गरेपछि सम्बोधन गर्न ड्यासमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति देउवासम्म आक्रोशित बने । सिमसिमे पानीका बीच उद्घाटन भएको सो कार्यक्रममा नेताहरुको उपस्थितिलाई भिडले खासै रुचाएको थिएन । कार्यक्रम समुद्घाटनका लागि प्रधानमन्त्री ओली र देउवा सहितका नेताहरु मंचको आगाडी आएदेखि नै चर्को स्वर गर्न थालेको भिडको एक समूह प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गर्ना साथ थप नाराबाजीमा उत्रियो । हरेक कार्यक्रममा न्यूनतम १ घण्टा सम्बोधन गर्ने गरेका ओलीले भिडबाट चोर देखि देश छोडसम्मको नाराबाजी सुनेपछि नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको असन्तुष्टी पौख्दै केही मिनेट मै आफ्नो भनाइ टुंगाए ।
उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरु जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् । नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरुको निरन्तरता यहाँहरुले दिइरहनु पर्छ । नेपाल संस्कृतिको हिसावले अत्यन्तै धनी देश हो । सांस्कृतिक हिसावले विविधतायुक्त देश हो । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म सानो देशमा विविध संस्कृतिहरुले युक्त छ । यो देशलाई वास्तवमा अत्यन्त आकर्षक बनाउने प्राकृतिक सुन्दरता मात्रै होइन, मानवीय र सांस्कृतिक सुन्दरताले पनि यो देशलाई अत्यन्त सुन्दर बनाएको छ । नेपाली जनता आफ्ना चाडबाडप्रति अत्यन्तै उत्साहित छन् । नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन । नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो । नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन । नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ ।’
नेताहरुविरुद्ध युवाहरुले गरेको नाराबाजीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त संयम बने, छोटो बोलेर मन्तव्य टुंगाए । तर सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा कहिले कार्यक्रम कै बीचमा निदाउने, कहिले र्याल चुहाउने र कहिले आक्रोशित हुने गरेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा भने भिडविरुद्ध खनिए । आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै लाज नभएकाहरु, कार्यक्रम बिथोल्ने, जे गरे गर्नुस् देखि तिमिहरुको संस्कार यही हो भन्दै प्रश्न गर्न भ्याए । उनी त्यति मै रोकिएनन् नाराबाजी गर्ने समूहलाई ठिक पार्नुपर्छ भन्दै चेतावनी दिए ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्। देउवा मंचमा आउनेबित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवाले भने आफूलाई सम्हाल्न सकेनन् र जंगिए।
लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्नेरु लाज नभएकाहरु, यही हो नेपालको संस्कृतिरु यही हो नेपालको चलनरु यही सिकेर आएको रुबकवासहरु।’ देउवाले आक्रोश पोखे।
उनले गौरा पर्व बिथोल्नेहरूको कार्यक्रममा घुसपैठ भएको आरोप पनि लगाए। ‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।
नेताहरुको विरोधमा उत्रिएको समूहले नेताहरुको कारण देश डुबेको आशय प्रकट गरेको थियो । उनीहरुको नाराबाजीको भाव नेताहरु देश छोड्नुपर्ने सम्बन्धित थियो । नेताहरुविरुद्ध नाराबाजीमा उत्रिएको समूहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भने पक्षमा नारा लगाएको थियो ।
सामान्यतया देशका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गर्नु निषेध जस्तै हुन्छ । देशका बागडोर सम्हालेकाविरुद्ध चोर देखि देश छोडसम्मको नाराबाजी लगाउनुलाई नैतिक व्यवहार मान्न सकिदैंन । तर देशमा बढिरहेको भ्रष्टाचार, बेरोजगारी लगायतका समस्याबाट आजित भएका जनता र युवा जमातले आफ्नो असन्तुष्टी कहाँ पोख्ने ? बंगलादेशमा भएको घटना जस्तै यो घटनालाई राजनीतिका जानकारहरुले आगो झिल्कोको रुपमा परिभाषित गरेका छन् । नेताहरुको कमजोरीमा जनता चुपनबस्ने संकेत दिखिएको छ ।