भदौ २३, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरूलाई चिर्न फेरि एकपटक संघर्ष गर्नु परे आफु तयार रहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने बताए।
प्रचण्डले क्रान्तिकाका उपलब्धिहरूलाई उल्ट्याउनको लागि धेरै प्रयास भइरहेको भन्दै, क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपयोग गर्नेहरूले नै क्रान्तिकारी आन्दोलनको अपमान गरिरहेको आरोप लगाए। उनले भने, “हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा माओवादी जनयुद्ध भनेर लेखेका छौं, तर अहिले त्यही व्यवस्थामा बसेर जनयुद्धलाई अपमान गर्ने काम भइरहेको छ। यसका विरुद्ध संघर्ष गर्नु सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।”
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति विभिन्न रूपहरूमा जारी रहने बताउँदै भने, “हामीले जनयुद्धमा हुँदा १२ बुँदे समझदारी गर्दा गणतन्त्र आउनेछ, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरूले आफ्नो बुर्जुवा गणतन्त्र बनाउनेछन् भने, हामी जनताको गणतन्त्र बनाउन कोशिस गर्नेछौं। अब राजनीति त्यतै जाँदैछ। दलाल पूँजीपति र नोकरशाहीहरूसँग संघर्ष सुरु भएको छ। जनतालाई साथमा लिएर फेरि संघर्ष अघि बढाउनैपर्छ।”
प्रचण्डले समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषहरूका विरुद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट गर्दै, आफूहरू विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा बलियो रहेको दावी गरे। जनयुद्ध सुरु हुनुअघि रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको उल्लेख गर्दै प्रचण्डले सहिदहरूको बलिदानले जनयुद्धलाई शक्तिशाली बनाएको बताए।
सुरेश वाग्ले पार्टीको उच्चस्तरमा एक अत्यन्त योग्य र लोकप्रिय शिक्षकको रूपमा स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै प्रचण्डले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भएको भए पनि बलिदानी भाव उच्चस्तरमा वृद्धि भएको बताए। वाग्ले पार्टी भित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा उभिएर नेतृत्व केन्द्रिकरणमा जोड दिने व्यक्तित्व भएको प्रचण्डले उल्लेख गरे।