क. पुष्पलालको सतबार्षिकी – मोहन बहादुर के.सी

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल जन्मनु भएको यही २०८१ साल असार १५ गते १०० वर्ष पुगेको छ । वहाँ १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा जन्मनु भएको थियो । ओखलढुङ्गाबाट अक्षरारम्भ गरी पाटन मा.वि.वाट प्रवेशिका अर्थात् एस.एल.सी.पास गर्नु भएको थियो । वनारसको हरिश्चन्द्र कलेजमा आइ.ए.मा पढ्दा पढ्दै घरायासी परिस्थिति र राजनीतिका कारणले पढ्ने मौका पाउनु भएन । राणा शासन विरोधी आन्दोलनमा होमिनु भयो । कम्युनिष्ट राजनीतिमा होमिएकी सहाना प्रधानसँग २०१० साल माघ २ गते वहाँ विवाह बन्धनमा बाँधिनु भयो । वहाका यक छोरी र यक छोरा छन ।
दाजु गंगालाल राणाशासनको विरोध र प्रजातन्त्र प्राप्तिको संघर्षमा लाग्नु भएको थियो । तात्कालिन राणा शासकले १९९७ सालमा वहाँ समेत ४ जनालाई मृत्य दण्ड दिंयो । पुष्पलालले दाजुले उठाएको राष्ट्रिय झण्डा तल झर्न नदिने प्रण गर्दै सक्रिय राजनीतिमा होमिनु भयो । यसै क्रममा वहाँ र प्रेम बहादुर, सूर्य बहादुर, शम्भूराम समेतले एक राजनैतिक फोरम बनाउनु भयो । त्यसले गति लिन नसकेकाले वहाँहरू नेपाली राष्ट्रिय काँग्रेसमा सामेल हुन भयो । २००३।१२।२८ गते भारतको जोगबनीमा भएको नेपाली राष्ट्रिय कांग्रेस पार्टीको अधिवेशनबाट केन्द्रीय कार्य समितिको सभापतिमा डिल्लीरमण रेग्मी, महामन्त्रीमा प्रेम बहादुर र मन्त्री (सचिब) पदमा पुष्पलाल निर्वाचित हुनु भयो । बि.पी कोइराला जेलबाट छुटे पछि पार्टीको नेतृत्व बारे बि.पि र रेग्मी बीच झगडा सुरु भयो । कुरा नमिले पछि वी.पी.ले अर्को नेपाली प्रजातान्त्रिक काँगे्रस नामको पार्टी गठन गर्नु भयो । रेग्मी नेतृत्वको राष्ट्रिय काँग्रेसको फागुन २००४ सालमा बनारसमा गर्ने भनिएको दोश्रो सम्मेलनका एजेण्डा निर्धाण गर्न बसेको केन्द्रीय समितिको बैठकले नेपालको राष्ट्रिय झण्डालाई नेपाली काँग्रेसको झण्डा मानि झन्डोत्तोलन गर्ने भनि निर्णय गरेकोमा पि.एल.ले विरोध गर्नु भयो । वहाँलाई पार्टीको निर्णय मान्नु पर्छ भनि दवाव दिन थाले पछि, त्यसो भए “म पार्टीबाट बिदा लिन्छु” भन्नु भयो । दुई काँग्रेस दल मिलाउन खोज्दा नमिलेकाले केही महिना पछि वहाँ काँग्रेस पार्टीबाट अलग्गिएर नेपाल कम्युनिष्ट पार्टी खोल्ने निर्णयमा पुग्नु भयो ।
पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्रको नेपाली भाषामा अनुवाद गर्नु भयो । भूमिकामा लेख्नु भयो “नेपाली जनताको मूलभुत समस्या सामन्तवादी, विदेशी एकाधिकार पूँजीवादी तथा साम्राज्यवादी शोषण हो र नेपाली जनताले यस्तो शोषणबाट मुक्त हुन दीर्घकालिन शसस्त्र कृषि क्रान्ति सम्पन्न गरी नयाँ जनवादी नेपालको निमार्ण गरी समाजवादमा संक्रमण हुनु हो ।” भनि पहिलो पटक नेपाली क्रान्तिको लक्ष र गन्तब्य उल्लेख गर्नु भयो ।
नेपाली भाषामा लेखिएका माक्र्सवादी पुस्तकको नेपालमा अभाव थियो । विदेशबाट प्रकाशित माक्र्सवादी पुस्तक पनि खुलेआम किन्न नपाइने अवस्था थियो । केही समय भित्र त्यस्ता पुस्तक ल्याई विक्रि वितरण गर्ने प्रबन्धमा पनि लाग्नु भयो । यसै क्रममा वहाले माक्र्स र लेनिनद्वारा लिखित (१) कम्युनिष्ट पार्टीको घोषणापत्र, (२) सोभियत रुसमा व्यक्ति र समाज (३) चीनी क्रान्ति र चीनी कम्युनिष्ट पार्टी, (४) गाउँका गरिबहरूलाई अपिल (५) माक्र्सवाद के हो ? भन्ने पुस्तकहरूको अनुवाद गर्नु भयो । कम्युनिष्ट घोषणापत्रको अनुवाद प्रकाशन गर्दा उहाले प्रकाशकीयमा “हजारौ बर्ष देखिको नेपालको बौदिक क्षेत्रमा सामन्ति पूँजीवादी र साम्राज्यवादी विचारले एकाधिपत्य जमाएको छ । त्यसलाई तोडी नेपालको बौदिक क्षेत्रमा बैज्ञानिक समाजवादी विचारधाराले प्रवेश पाउदै नेपालको इतिहासमा जनताको जनबादी संघर्षलाई ऐतिहासिक भौतिकवादको आधारमा हेर्ने र अध्यायन गर्ने कोसिस भयो” भनि लेख्नु भएको छ । त्यस्तै वहाँले नेपालमा सन १८४६ मा भएको कोतपर्व देखि उपनिवेशबादको प्रवेश भयो । यसका साथैे “नेपाली जनताका दुश्मन केवल नेपाली सामन्त राणा मात्र होइनन् यिनलाई आड भरोसा, टेवा दिने भारतीय पूँजीपती र विश्व प्रतिक्रियावादीहरूको नेता आग्ला अमेरीकन साम्राज्यवाद पनि हो”भनि लेख्नु भएको छ ।
नेपाली काँग्रेसका दुवै दलले नेपाली सर्वहारा वर्ग, किसान र मजदुर समेतका आधारभुत नेपाली जनताको हित गर्न नसक्ने देखे पछि २००६ साल वैशाख १० गते भारत कलकत्ताको श्यामवजारमा बसेको एक बैठकले ५ जना संस्थापक रहने गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना ग¥यो । क.पुष्पलाल महासचिव हुनु भयो । नव गठित नेकपाले तल्लो तहका पार्टी कमिटीका संरचना तयार गर्दै संगठन गर्न थाल्यो । भातृ संगठनको रूपमा अखिल नेपाल किसान संघ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन, अखिल नेपाल महिला संघ, अखिल नेपाल टे«ड युनियन, न्युन वैतनिक कर्मचारी संघ, प्रगतिशील लेखक संघ, जस्ता पार्टीका विभिन्न संघ खोलि तिनका आधारभुत संरचना समेत बनाउनु भयो । वहाँले कतिपय संघका घोषणा पत्रहरू लेख्नमा महत्वपुर्ण योगदान गर्नु भयो ।
नेकपाको २००८ सालमा पहिलो सम्मेलन भयो । सो सम्मेलनमा पुष्पलालले जातीय आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी नामको राजनैतिक प्रतिवेदन, नयाँ जनवादका निम्ति नेपाली जनताको वाटो (कार्यक्रम) र पार्टीको विधान तयार गरी पेश गर्नु भएकोमा सम्मेलनले सर्वसम्मत पारित गरेको थियो । सम्मेलनले वहाँलाई नै महासचिबमा निर्वाचित गरी नेतृत्व प्रदान ग¥यो । नेकपाको यहि जगमा वहाँले रोपेको विज आज जताततै झाङ्गिएर सरकार र प्रतिपक्ष सबै ठाउँ ओगटेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा वहाँका निम्न विशेषता र योगदानहरू रहेका छन ।
(१) नेपालको कम्युनिष्ट क्रान्तिको आधारभुत सिद्धान्त र कार्यक्रमिक नीतिको विकासमा योगदान (२) कम्युनिष्ट आन्दोलनका कार्यदिशाको निर्धारण (३) नेपालको राष्ट्रियताको दिशा निर्देश (४) नेपाली क्रान्तिको गोरेटो गणतन्त्रको स्थापना (५) नेपाली समाजको पहिलो ऐतिहासिक विश्लेषण (६) नेपाली समाजमा देखिएका वर्गको समग्र विश्लेषण (नेपाली क्रान्तिका शत्रु र मित्रको निक्र्याैल) (७) समाजको चरित्र र प्रधान अन्तरविरोधको निक्र्यौल (८) नेपाली क्रान्तिको चरित्र निरोपण र लक्ष निर्धारण (९) नेपाल कम्युनिष्ट पार्टीको स्थापना, नेतृत्व र संचालनमा विशिष्ठता (१०) द्वन्दात्मक भौतिकवादको विश्व दृष्टिकोण (११) आन्दोलन सफल पार्न मोर्चा गठन, संयुक्त आन्दोलनको दिशा निर्देश (१२) पार्टी कार्यकर्ताबीचको जनवादी केन्द्रीयता (१३) संगठनात्मक सिद्धान्त र स्वरूप (१४) विश्व कम्युनिष्ट आन्दोलनमा सन्तुलित दृष्टिकोण र अडान (१५) पार्टीमा जनवर्गीय संगठनको व्यवस्था र महत्व (१६) रचनात्मक योगदान (कम्युनिष्ट आन्दोलनसंग सम्बन्धि विभिन्न पुस्तक र रचना प्रकाशन) (१७) नेपालको किसान आन्दोलनको अगुवा (१८) क्रान्तिको चरण निर्धारण (न्युनतम पूँजीवाद अधिकतम समाजवाद देखि साम्यबाद सम्म (१९) सामाजिक रूपान्तरणमा पहल ( कम्युनिष्ट पार्टीको स्थापना गर्न माक्र्सवादी अध्ययन केन्द्र, प्रगतिशिल अध्ययन मण्डल आदि गठन गरेर समाजको रूपान्तरण) (२०) संयुक्त जनआन्दोलनको नीति निर्धारण । (२१) नेपालको ऐतिहासिक भौतिकवादी इतिहासको लेखन प्रारम्भ । (२२) सादा जीवन उच्च विचार, नीजि स्वार्थ भन्दा माथिका अगुवा । (२३) कम्युनिष्ट घोषणापत्रमा शासन व्यवस्थाको उल्लेख । यसरी संक्षिप्तमा नेपालको कम्युनिष्ट खान्दोलनमा वहाँका धेरै योगदानहरू रहेका छन् । वहाँका निम्न केही अन्य थप योगदान उल्लेख गर्न सकिन्छ ।
(१) साहित्यिक कृतिमा पुष्पलाल
नेपालका विभिन्न क्षेत्रमा ख्याति प्राप्त साहित्यकार, कविता, महाकाव्य, जस्ता धेरै रचनाकारले वहाँको वारेमा लेख्नु भएको छ । उनिहरू मध्य रामचन्द्र भट्टराई (भैरहवा) का दृष्टिमा पुष्पलाल अपार सम्मान गर्नु पर्ने व्यक्ति भन्नु भएको छ । राममणि पोखरेल (उदयपुर) ले क्रान्तिकारी व्यक्तित्व भन्नु भएको छ । नरनाथ लुइटेलले क्रान्तिकारी र साहसिक व्यक्तित्व भनि चित्रण गर्नु भएको छ । त्यस्तै गणेश पण्डित (नुवाकोट), जगन्नाथ आचार्य (सिन्धुपाल्चोक), विनु उपाध्याय (तनहु), पे्रमनारायण प्रेमि (सिधुली) समेतले वहाको व्यक्तित्वको वारे र्चा गर्नु भएको छ । ऋषिराम न्यौपाने (ललितपुर) ले आफ्नो काव्यमा “रगत झै मुटुका, नयनका पाना सधै । ताजा रहने हिमालका पानी झै ।। शहीदका शिक्षाले साहसिला बनेका । पुष्पलाल लम्किए सिद्धान्तमा अडेका” भनि लेख्नु भएको छ । अन्य कयौ लेखकले वहाँका वारेको आफ्ना रचना प्रकासित गर्नु भएको छ ।
(२) शोधपरक कृतिमा नेपाल रत्न
क.पुष्पलालका वारेमा कंमरेडहरू डा.वेदुराम भुसाल, डा.माधब पन्थी, डा.ढाकाराम सापकोटाको संयुक्त टिमले २ बर्ष लगाएर पुष्पलालको शोधपरक ग्रन्थ तयार गर्नु भै प्रकाशित भएको छ । वहाँहरूले पुष्पलालका जीवनीका वारेमा अठार अध्यायमा लेख्नु भएको छ । यस्तै डा.माधब पन्थिले कमायुँ विश्वविद्यालय नैनीताल भारतबाट पी.एच.डी.उपाधिका लागि हिन्दि भाषामा लेख्नु भएको शोधग्रन्थको शिर्षक “नेपालको सम्यवादी आन्दोलनमा पुष्पलालको योगदानको विशेष सन्दर्भ” भन्ने छ । शोधग्रन्थमा नेपालको गणतान्त्रीक आन्दोलनमा २०४६।४७ को आन्दोलन र पुष्पलालको सफल कार्यनीतिको चर्चा गर्दै भनिएको छ, समग्रमा नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको अतुलनीय र विशिष्ठ योगदान रहेको छ ।
(३) समकालिन इतिहासमा पुष्पलाल
क.पुष्पलालले नेपालको इतिहास लेख्दा, आजको विज्ञान शास्त्रको कोटिमा सर्वमान्यरूपले दर्ता भइसकेको हुनले पारलौकिक शक्ति, धार्मिक दृष्टिकोण तथा कुनै एक विशिष्ट व्याक्तिलाई केन्द्रविन्दु वनाइ इतिहासलाइ हेर्नु गलत हुनेछ भनि आफ्नो पुस्तक नेपालमा मातृ सत्तात्मक समाज,(पुष्पलालका छानिएका रचना भाग १ पृष्ठ ३११)मा उल्लेख गर्नु भएको छ । वहाँ भन्नु हुन्छ, “नेपालमा आज सम्म जनताको इतिहास लेखिएको छैन, हामिले पढ्ने गरेको इतिहास शासकद्वारा लेख्न लगाइएको गुणगानको गाथा मात्र हो ।” समकालिन इतिहासमा पुष्पलाल नामक रचनामा वहाँका अन्तरंग सहयोगी गोविन्द ज्ञवाली लेख्नु हुन्छ “इतिहासमा आफ्नो सोच र चिन्तनहरूको प्रामाणिकता स्थापित गर्न कठिन परिस्थितिको सामना गर्नु पर्दा पनि आजीवन संघर्ष गर्ने योद्धा मध्य एक पुष्पलाल हुनुहुन्छ । नेपालमा सामन्तबादले राणाकालमा पूर्णता पायो तर व्यापारिक पूँजीवादले प्रवेश गर्न पाएन । बरु दलाल पूँजीवाद हावि भयो । हाल विस्तारै दलाल नोकरशाही पूँजीपतिको हालि मुहाली भएकाले राष्ट्रिय पूँजीवाद अस्तित्व रक्षाको संघर्षमा रहेको छ । पुष्पलालले नेपाली इतिहासको अग्रगामी धारको प्रतिनिधित्व गर्नु भयो । नेपाली जनआन्दोलनको दिशाको मार्गदर्शन गर्नु भयो । वहाँले वैज्ञानिक चिन्तनमा आधारित माक्र्सवादलाई आफ्नो जीवन दर्शन वनाउनु भयो । तत्कालिन समाजको धार्मिक चेतना वारे पुष्पलाल भन्नु हुन्छ “भाग्यवादले मानिसलाई शक्तिहीन एवं सामथ्र्य विहीन मात्र बनाउने होइन, आगामी संभावनाहरूको परिकल्पना पनि गर्न नसक्ने निराशापुर्ण अवस्थामा पु¥याउछ । अन्धविश्वास समयावधि मिथ्या चेतना यवं धारणाहरूबाट निर्देशित र नियन्त्रित त्यस समयको सामाजिक चिन्तनलाई रहस्यमय ईश्वरीय शक्ति र सत्ताको परिकल्पना बाहेक अरु कुनै कल्पनाको निकास दिन सक्दैनथ्यो ।
(४) पुष्पलाल जीवन कृतित्व र शिक्षा
पुष्पलाललाई नजिकबाट चिनेका दोश्रो पुस्ताका नेता नेत्र पन्थीको कृतिबारे क. झलनाथ खनालले लेख्नु भएको छ, “क.पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, नेपाली समाजको प्रथम पटक माक्र्सवादी ढंगले विश्लेषण गर्ने, नेपाली समाजको विकासक्रम त्यसको वर्तमान अवस्था र नेपाली समाजको भविश्यवारे पहिलो विश्लेषण अगाडी सार्नु भयो । वहाले नेपाली समाजका विविध सामाजिक राजनीतिक अन्तरविरोधको विश्लेषण अघी सार्नु भयो । वहाँले नै नेपाली क्रान्तिको कार्य दिशा, नीति सिद्धान्त अगाडी सार्नु भयो । नेपाली समाजलाई एउटा ठोस दिशावोध गर्नु भयो । आज हामि जुन उच्चाइमा पुगेका छौ त्यो वहाँले गर्नु भएका योगदानहरूका जगमा उभिएर नै सम्भव भएको हो । स्वयं मदन भण्डारीको “जनताको बहुदलिय जनबाद” पनि वहाँकै विचार योगदानहरूको निरन्तरता र विकाशबाट आएको हो” ।
पुष्पलालले लेख्नु भएको र अनुवाद गर्नु भएका निम्न रचना प्राप्त भएका छन । (१) कम्युनिष्ट धोषणापत्रको अनुवाद २००६ (२) नेपालमा मातृसत्तात्मक समाज (३) नेपालमा राजतन्त्रको उद्भव, विकास र भविश्य (४) नयाँ जनवादी क्रान्ति भनेको के हो ? (५) समाज विकास र शव्दार्थ (६) नेपाल कम्युनिष्ट पार्टीको अठार बर्षको सिंहावलोकन (७) तेश्रो ऐतिहासिक सम्मेलनको ऐतिहासिक महत्व २०२५ (८) नेकपा र यसको कार्य पद्धति (९) मुलबाटो २०१९ (१०) नेपाली जनआन्दोलन एक समिक्षा (११) नयाँ जनवादी सस्कृति (१२) नयाँ जनवादी क्रान्ति भनेको के हो ? (१३) दस्तावेजको अध्ययन कसरी गर्ने (१४) नेपाल भारत वाणिज्य व्यापार र पारवाहन (१५) नेपाली काँग्रेसको समाजवादको विवेचना र आजको परिस्थितिमा हाम्रो कर्तव्य (१६) नयाँ जनबादका लागी नेपाली जनताको बाटो २००८ (१७) नयाँ जनवादी कार्यक्रम २०२५ (१८) राष्ट्रको नाममा नेकपाको अपिल २०१८ (१९) नेकपाको राजनैतिक प्रस्ताव २०१० (२०) ल्यतभक यल तजभ ऋयmmगलष्कत ःयखझभलत क्ष्ल ल्भउब ि९द्दज्ञ० ज्ष्कतयचष्अब िक्गचखभथ या ल्भउब िआदि छन । वहाका रचनाले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान गरेको छ । पुष्पलाल बारे दधिराज सुवेदी आफ्नो रचना “संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल” २०७१ लेख्नु भएको छ । सुवेदीले संयुक्त जनआन्दोलनका सन्दर्भमा पुष्पलालका विचार सविस्तार राख्नु भएको छ ।
(५) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पुष्पलाल
पुष्पलालले भारतिय कम्युनिष्ट पार्टीसंग अन्तरसम्बन्ध राखेर सर्बहारा अन्तर्रराष्ट्रियतावादको आलोकमा विश्व कम्युनिष्ट आन्दोलनसित एकताबद्ध भएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भयो । अमेरीकि सामराज्यवाद र भारतीय एकाधिकार पूजीवादको विस्तारको राष्ट्रिय मुक्ति आन्दोलनको पक्षमा रहनु भयो ।
चिनको माओ विचारधारा अगाल्दै लिनपियाओ र म्याडम चाङ्ग चीङ्गको उग्रवादको विरोध गर्नु भयो । वहाँले २००८ सालको नेकपाको पहिलो राष्ट्रिय सम्मेलनको निर्णयबाट चिनिया कम्युनिष्ट पार्टीसंग भाइचारा सम्बन्ध राख्न पत्र लेखि गौरिभक्त प्रधानलाई चिन पठाउनु भयो । सोहि आधारमा चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा १९५६ मा आर्ठौ महाधिवेशनमा भाग लिनु भयो ।
१९६० पछिको ख्रुस्चेबको संसोधनवादको विरोधमा देखिनु भयो । सोभियत कम्युनिष्ट पार्टीको आयोजनामा १९५७ मा माष्कोमा भएको विश्वका कम्युनिष्ट र श्रमिकहरूको पार्टीको सम्मेलनमा भाग लिदा वहाँले खु्रस्चेभको डटेर विरोध गर्नु भयो ।
भारतमा भारतिय कम्युनिष्ट पार्टीका डाँगेको दक्षिणपन्थ र नक्सालवादी उग्रवामपन्थवादको पनि विरोध गर्नु भयो । भारतिय कम्युनिष्ट पार्टीको विभाजन पस्चात वहा भाकपा (मा) संग नजिकिनु भयो । वहाले भारत सरकारसंगको साछि रहेको दिल्लि सम्झौता, गोरखा भर्ति, असमान सन्धिको विरोध गर्नुको साथै नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेपको पनि विरोध गर्दै नेपाल भारत मैत्रि संघ गठन गर्नु भयो । एकता र संघर्षको बाटो अपनाउदै दुई पक्षबीचको मतभेद सुल्झाउदै अगाडि बढनु भयो । विश्वका ठुला कम्युनिष्ट पार्टीसंग कहिल्यै नझुकी निष्पक्ष भूमिकामा रहनु भयो ।
पुष्पलालले भियतनाम कम्युनिष्ट पार्टी, कोरियाली वर्कर पार्टी, जस्ता विश्वका अन्य कम्युनिष्ट पार्टीँसँग पनि भाइचारा सम्बन्धको हात बढाउनु भयो ।
वहाँले नेपाल विश्व शान्ति समिति गठन गरी विभिन्न देशमा भएका युद्ध समाप्त गर्न विश्व शान्तिको सघर्षमा उत्रिनु भयो । जनबाद नभएका देशमा जनवाद स्थापनाको आन्दोलनलाई समर्थन गर्ने, समाजवाद स्थापना नभएका देशमा जनवाद स्थापनाका लागी र समाजवाद भएका देशमा समाजवादको सुरक्षामा देखिनु भयो ।
वहाँलाई भारतिय कम्युनिष्ट पार्टी (मा) का पूर्व महासचिव प्रकाश कराँेतेले “क. पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभएर दक्षिण यसिया र पूर्वी एशियाकै नेता हुन” भनि मुल्याङ्कन गर्नु भएको छ । भारतिय काँग्रेशका नेता डीपी त्रिपाठीले “क. पुष्पलाल कम्युनिष्ट आन्दोलनको नेता त हुंदै हो, त्यति मात्र नभएर वहाँ लोकतान्त्रिक आन्दोलनका पनि नेता हो । वहाँ नेपाल नेपालीको मात्र होइन सिंगो दक्षिण एसियाको निरंकुशता विरोधी नेता हो” । भाकपा (मा) का नेता सिताराम यचुरीले “पुष्पलाल नेपाली कम्युनिष्ट तथा प्रजातान्त्रिक आन्दोलनका नेता त हुंदै हो, सारा दक्षिण एशियाकै किसान आन्दोलनको समेत नेता हो ।
(६) नेपालको परराष्ट्र नीतिमा पुष्पलाल
राणाकाल सम्म नेपालको परराष्ट्र नीति आंग्लो अमेरिकी साम्राज्यवाद समर्थक थियो । २००६ सालमा नेकपाको स्थापना गर्दा पुष्पलालले भन्नु भयको थियो “नेपाली जनताका दुश्मन राणा मात्र हैनन् तिनलाई आड भरोसा दिने भारतीय पूँजीपति र विश्व प्रतिक्रियावादीहरूको नेता आंग्लो अमेरिकी सामराज्यवाद हो” (नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास) भनि लेख्नु भएको छ । वहाँले सुगौली सन्धिको समिक्षा गर्दै लेख्नु भयो “ नेपाल माथि सन् १८१६ मा सुगौली सन्धी लादियो । त्यस सुगौली सन्धीको फलस्वरूप नेपालमा अग्रेजी दुतावास रहने भयो र नेपालमै अग्रेजी साम्राज्यवादको अनुमतिविना अन्य कुनै शक्तिसंग सम्बन्ध राख्न नपाउने भयो” । पुष्पलालले नेपालको इतिहासमा पहिलोपटक प्रभुसत्तामा आँच आएको देख्नु प¥यो । “राणाशाहीले अग्रेजी सामराज्यवादको फैलावट र टिकाउमानै आफ्नो अस्तित्व देख्दथ्यो” । (नेपाली जन आन्दोलन १ समिक्षा)
वहाले भारतीय एकाधिकार पूँजी विस्तारको विरोध, १९४७ को गोरखा भर्ती केन्द्रको सन्धिकोे विरोध, १९५०को नेपाल भारत मैत्री, व्यापार र पारवाहन सन्धिको विरोध गर्नु भयो । अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको पहिचान गर्दै नयाँ जनबादी कार्यक्रमका समर्थक, “विश्व समाजवादी व्यवस्था, अन्तर्राट्रिय मजदुर आन्दोलन, भारतीय जनवादी आन्दोलनलाई” मित्र शक्ति मान्नु भयो । देश विदेशका भाइचारा पार्टीहरू पनि मित्र शक्ति हुन । त्यस्तै तात्कालिन समयमा नेपाल विश्व शान्ति समिति, प्रवासी संगठन, नेपाल भारत जनमैत्रि संघको पनि प्रसंसा गर्नु भयो । नेपाल चिन मैत्री संघ, नेपाल सोभियत मैत्री संघ, नेपाल भियतनाम मैत्रि संघलाई, मित्र संघ ठान्नु भयो ।
(७) नयाँ जनवादी संस्कृति र पुष्पलाल
कं पुष्पलालले नेकपाको जनवादी संस्कृतिक मोर्चा गठन गर्दै अध्यक्षमा कवि युद्ध प्रसाद मिश्रलाई स्थापित गर्नु भयो । पुष्पलालले नेपाली संस्कृतिका असान्दर्भिक प्रचलनलाई समयानुकुल वनाउनु पर्ने पक्षको पक्ष पोषण गर्नु भयो । त्यसैले पुरानो आर्थिक, राजनैतिक परिस्थितिवाट उत्पन्न हुने मानसिक गतिविधि र मान्यताका विरुद्ध खडा हुनु भयो । नेपालमा विगत पच्चिस सय बर्ष पहिले देखिको सामन्ती आर्थिक राजनैतिक व्यवस्था र त्यसले सिर्जेको सस्कृतिको परिवर्तनको पक्षमा रहनु भयो । आध्यात्मिक चिन्तनको आधारमा वेद, पुराण, धर्मशास्त्रका भौतिकवादी विचारलाई यथावत राखी आध्यात्मवादका आधारमा निर्मित परमेश्वर, परलोक, पुनरजन्म, पुर्पुरो र परंम्परा जस्ता विषयको पुनरसंचना नगरी सस्कृति र समाज बदल्न सकिदैन । आजको आवस्यकता प्रगतिसिल जनबादी संस्कृतिको निमार्ण, कसरी अधिकतम रुपमा गर्न सकिन्छ, प्रत्येकले आफ्नो ज्ञान र सिप प्रयोग गर्न सक्छन भन्नु भयो । सहित्य कला, संस्कृति वर्गीय हितका साधन भएकाले आज कुन वर्गको स्वर्थको हितमा प्रयोग भयको छ, बुझेर तिनलाई समय सापेक्ष वनाउनु पर्दछ ।
यो लोक असत्य हो परलोक सत्य हो भन्ने मान्यता नउखेलि, धनि र गरिब हुनु पुर्वजन्मको खेल हो भन्ने मान्यता नचिरि, जात, छुवाछुत वर्ण व्यवस्था ईश्वरले वनाय हुन भन्ने जस्ता अनेको मान्यताहरूको निराकण नगरे सम्म नयाँ जनबादी सस्कृतिको निर्माण हुन सक्दैन भन्नु भयो ।
क. पुष्पलालका योगदान बारेमा धेरै विषयमा कलम चोप्न सकिन्छ । जे होस् वहाँको नेपालको प्रगतिशिल समाजवादी कम्यूनिष्ट आन्दोलनमा वहाँको अतुलनिय योगदान छ । २०१७ पछिका सवै राजनैतिक आन्दोलन वहाँकै रोडम्याप बमोजिम सफल भएका छन । वहाको संयुक्त जनआन्दोलनको कार्यनीति सर्वाधिक सफल मानियको छ ।
(८) विभिन्न नेताहरूको दृष्टिमा पुष्पलाल
नेकपाका संस्थापक नेता मध्यका नरबहादुर कर्माचार्यले पुष्पलालको वारेमा, नव युग बर्ष २० मा “वहाँ अग्रणी र योग्य नेता थिए” भन्नु भयो । त्यस्तै निरन्जनगोविन्द बैद्यले, वहाँ त्यागी लगनशील तथा संडघर्षशील, सर्वहारा वर्गका योद्धा हुनुहुन्थ्यो । समकालिन नेता मध्यका मनमोहन अधिकारीका दृष्टिमा “पुष्पलाल संस्थापक नेताका साथै सिद्धान्त निष्ठ चिन्तक, कुशल संगठक, सडघर्षशील, चिन्तनशील र अविराम काममा जुट्न सक्ने वहाँ जस्ता नेता कमै हुन्छन”(नव युग बर्ष २० मा) भन्नु भयो । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद भट्टराइका दृष्टिमा “पुष्पलाल अत्यन्त मिलनसार, विद्वान, सादा जीवन, सरल व्यवहारका धनी, साँच्चै नै उहाँ एकदमै लगनशील र मिलनसार हुनुहुन्थ्यो”(दृष्टि साप्ताहिक बर्ष ९ अंक ३५) । विष्णु बहादुर मानन्धरका दृष्टिमा वहाँ नेकपाका संस्थापक महासचिब जे भय पनि पुष्पलाल नै नेपाली कम्युनिष्ट आन्दोलनको पर्यायवाची हुनुहुन्छ । अमिक शेरचन (फर्केर हेर्दा पुस्तकको पेज १४मा) भन्नु हुन्छ,“मेरो लागी सबैभन्दा आदरणीय र प्रभाब पार्न सक्ने नेता कामरेड पुष्पलाल नै हुनु हुन्छ” । उक्त पुस्तकको पेज २१ मा अरबिन्द रिमाल भन्नु हुन्छ, पुष्पलालले एक भेटमा मलाई भन्नु भयो “युवा विद्यार्थिहरू नेपालको राजनीतिक क्रान्तिमा भाग लिनुपर्छ, काँग्रेसको आन्दोलनले नेपाली जनताको आकांक्षा पूरा हुन सक्दैन, धोका हुन सक्छ । कम्युनिष्ट आन्दोलन नै परिवर्तनको शक्ति हो” । उहि पुस्तकको पेज ५१ मा डा.केशरजंग रायमाझिले पुष्पलाल वारे लेख्छन“मलाई एउटा कुराले दुःखी बनाउछ । म आफै कम्युनिष्ट पार्टीको संस्थापक बन्न पाइन । नपाएको भन्दा पनि मलाई त्यो अबसरबाट बन्चित गरिएको थियो । म अरुको भन्दा पनि बढी पुष्पलालको दोष देख्छुु ।”
समकालिन भारतीय नेता मध्य ज्योती बसु (नेपाल पत्र पुष्पलाल स्मृति अंक)मा पुष्पलाल सुन्दर हिमाली अधिराज्यलाई नेपाली जनताको हित हुने एक आधुनिक देशको रूपमा विकास गर्न सधै प्रयत्नशील रहनु भयो भन्नु भयो । भारतका अयोध्या सिंहले “पुष्पलालको व्यवहार, चरित्र र कार्यद्धारा वहाँले आफुलाई सच्चा जननेता, सच्चा कान्तिकारी र कम्युनिष्ट सावित गर्नु भयो । उहाँ जस्तो नेता कोही पनि छैन भनि (नया जनबाद, पुष्पलाल स्मृति विशेषाङ्कमा” भन्नु भयो । चन्द्रवली सिंहले (उक्त स्मृति अंक(मा भन्नु भयो “पुष्पलाल सही अर्थमा एक क्रान्तिकारी चिन्तक हुनु हुन्थ्यो । वहाले त्यस चिन्तनलाई व्यबहारिक स्वरूप दिनको निम्ति बाटो समेत देखाउनु भयो” ।
नेपालका दोश्रो पुस्ताका नेताहरू मध्यका मदन भण्डारीको (संकलित रचना भाग ३)का दृष्टिमा“पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको एउटा हस्ती हुनुहुन्छ । यदि पुष्पलाललाई समग्रतामा बिश्लेषण गर्ने हो भने त्यो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हुनेछ । माक्र्सवाद लेनिनवाद वैज्ञानिक दृष्टिकोणका आधारमा देश र दुनियाँको परिस्थितिको विश्लेषण गर्दै कम्युनिष्ट पार्टी निर्माण गर्न पुष्पलालले गरेको योगदान प्रति नेपालको कम्युनिष्ट आन्दोलन कृतज्ञ छ र रहनेछ” । माधव कुमार नेपाल (नवयुग बर्ष २० अंक ९) को दृष्टिमा कं.पुष्पलाल नेपाली कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनले एक जना अविश्रान्त योद्धा, स्वप्नदृष्टा र अग्रगामि राजनीतिक कर्मीको रूपमा वहाँलाइ सदा सर्वदा सम्झिरहने छ । वहाँ अनेकौं जोखिम मोलेर भएपनि जीवनको अन्तिम घडी सम्म आफ्नो आस्था प्रति अटल र अविचलित हुदै सडघर्षको यात्रामा अविराम लागि रहनु भयो । कमरेड पुष्पलालको अटल आस्था र निष्ठाबाट हामी सवैले प्रेरणा लिन सक्नु पर्दछ । झलनाथ खनाल (नवयुग बर्ष २० अंक ९) ले भन्नु भयो । क. पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको अग्रणी नेताको नाम हो, यस आन्दोलनमा एक उज्वल नक्षेत्र तथा भव्य व्यक्तित्वको नाम हो । नेपालका श्रमजीवी जनताको प्रतिनिधि शक्ति नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता तथा महासचिबको नाम हो । वहाँसँग लामो समय सँगै रहनु भएका नेता बलराम उपाध्ययले भन्नु भएको छ हाम्रो देशकोे जनतान्त्रिक आन्दोलनमा सरसर्ति दृष्टिपात् गर्दा नेपाली जनताका महानतम् नेता क. पुष्पलाललाई नेपालका एक महान् राष्ट्रिय विभूतिको रूपमा पाउँछौ ।
नेपालका दुई धारका दुई अग्रणि नेताहरू आफैमा केही विरोधाभास रहेको पाइन्छ । पूँजीवादी आन्दोलनका अग्रणि वी.पी.कोइराला“ एकदलिय सम्यवाद प्रजातन्त्र हुन सक्दैन भन्नु हुन्थ्यो तर वहाँले संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक समाजवादको” वकालत गर्नु भयो । त्यस्तै समाजवादी आन्दोलनका अग्रणि “पुष्पलाल सर्वहारावादी नयाँँ जनवादको पृष्ठपोषक भएर पनि वहाँको कार्यदिशामा बहुदलिय लोकतन्त्रको पक्षधरताको थियो” । मदन भण्डारीको “जनताको बहुदलिय जनवाद” पुष्पलालको कार्यनीतिमा आधरित थियो भन्न सकिन्छ ।

बिज्ञापन
No data was found

 

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न