ट्रम्प र ह्यारिसको बहसलाई हेर्ने र सुन्नेकोसंख्या ६ करोड ७० लाख लाइभ पुग्यो ।
वासिङ्टन डिसी: सेप्टेम्बर ११ मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच राष्ट्रपतीय बहस भयो। एबीसी न्युजमा प्रत्यक्ष प्रसारण भएको यस बहसलाई ६ करोड ७० लाखभन्दा बढी दर्शकले टेलिभिजनमा हेरेको निल्सेन मार्केटिङ रिसर्च कम्पनीले जनाएको छ। यो संख्या बाइडेन र ट्रम्पबीचको अघिल्लो राष्ट्रपतीय बहसभन्दा ३१ प्रतिशत बढी हो।
यस तथ्याङ्कमा सामाजिक सञ्जालमार्फत बहस हेर्नेहरूलाई भने समावेश गरिएको छैन। पछिल्लो बहसमा १८ देखि ५४ वर्ष उमेर समूहका मानिसहरूको सङ्ख्या अघिल्लो पटकको तुलनामा दोब्बर बढेको पाइएको छ। तर, कमला–ट्रम्पको बहस हेर्ने सबैभन्दा ठूलो जमात भने ५५ वर्षभन्दा माथिका थिए, जसको सङ्ख्या झन्डै ४ करोड रहेको बताइएको छ।
८ करोड ४० लाखले हेरेका थिए हिलारी–ट्रम्पको बहस
सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन र ट्रम्पबीचको बहसलाई ८ करोड ४० लाख दर्शकले हेरेका थिए। न्यूयोर्क टाइम्सका अनुसार, हालैको कमला–ट्रम्प बहसलाई २०१६ मा हिलारी क्लिन्टन र ट्रम्पबीचको दोस्रो बहससँग तुलना गरिएको छ। यो बहस अहिलेसम्म टिभीमा सबैभन्दा धेरै हेरिएको राष्ट्रपतीय बहसको रूपमा मानिन्छ।