असोज १२, ललितपुर : लगातारको वर्षापछि आएको पहिरोका कारण ललितपुरको टाहाखेलमा दुई जनाको ज्यान गएको छ भने गोदावरी नगरपालिका-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-१० का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र ८ वर्षीया बालिकाको मृत्यु भएको हो। त्यस्तै, गोदावरी नगरपालिका-३ का वडाध्यक्ष सानुराजा घिमिरेले टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको पुष्टि गरेका छन्।
त्यस्तै, महाङ्काल गाउँपालिका-३ मा आएको बाढीले तीनवटा घर र प्रहरी चौकी बगाएको छ। महाङ्काल-३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बैतर्णीधाम मन्दिरसँगै तीनवटा घर र प्रहरी चौकीको सवारीसाधनसमेत बाढीले बगाएको जानकारी दिए। उनले भने, “बाढीले पाँच जना सम्पर्कविहीन भएका छन्, प्रहरीहरू भने सुरक्षित स्थानमा पुगेका छन्।”
यसैगरी, बागमती गाउँपालिका-६ आश्राङमा बाढीले एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगेको छ भने बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। बागमती पुलमा क्षति पुगेको र खानीखोला हाइड्रोपावर डुबानमा परेको छ।