चितवन :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनलाई २०६४ सालको अवस्थामा फर्काउने प्रयासको प्रशंसा गरेका छन्। चितवनमा शनिबार आयोजित ‘बेपत्ता यौद्धा दण्डपाणी न्यौपाने स्मृति सांस्कृतिक कार्यक्रम’मा सम्बोधन गर्दै प्रचण्डले विप्लवको यस विचारप्रति खुसी व्यक्त गरे।
प्रचण्डले माओवादी आन्दोलनका सबै धाराहरूलाई पुनः एकताबद्ध गरि समाजवादी क्रान्तिको दिशा तय गर्नुपर्ने बेला आएको बताए। उनले भने, “हामी सबै एउटै स्कुलिङबाट आएका हौं, अहिले विभिन्न धारहरूमा विभाजित भए पनि एकता अपरिहार्य छ। समाजवादी क्रान्तिको तयारी गर्न अब एकताबद्ध हुनुको विकल्प छैन।”
उनले गणतन्त्रको संरचना र स्वरुपबारे पनि टिप्पणी गरे। “शान्ति सम्झौता गर्दा गणतन्त्र स्थापना गर्ने सहमति भएको थियो, तर प्रश्न उठेको थियो— यो जनताको गणतन्त्र हुने कि दलालहरूको? अहिले हामी त्यस बिन्दुमा आइपुगेका छौं। अब सबैलाई एकताबद्ध गरि समाजवादी क्रान्ति पूरा गर्नु हाम्रो लक्ष्य हो,” प्रचण्डले थपे।
दण्डपाणी न्यौपानेको योगदानको स्मरण गर्दै प्रचण्डले उनी जनयुद्धको क्रममा बेपत्ता भएका सबैभन्दा उच्च तहका नेतामध्ये एक भएको र आफूसँग निकट रहेर काम गरेको बताए।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले माओवादी आन्दोलनको बलिदानबाट प्राप्त संविधानलाई कसैले मनपरी ढंगले परिमार्जन गर्न नपाउने बताइन्। उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पनि माओवादी धाराहरूको एकताको आवश्यकता औंल्याए।
सांस्कृतिक कार्यक्रमको अवसरमा सामना सांस्कृतिक परिवारसहित विभिन्न कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए।
यो कार्यक्रमले माओवादी आन्दोलनमा रहेका विभिन्न धाराहरूबीचको एकताको प्रयासलाई उजागर गर्छ। विप्लवको प्रस्ताव अनुसार, माओवादी आन्दोलनलाई २०६४ सालको स्थितिमा फर्काउने प्रयास गरिएको छ। यो प्रयासले माओवादी आन्दोलनका नेताहरूलाई एकजुट गरि समाजवादी क्रान्तिको बाटोमा लैजान खोजिएको संकेत गर्छ। प्रचण्डको भाषणले माओवादी नेतृत्वमा अहिले भइरहेको राजनीतिक संघर्षको सारलाई स्पष्ट पार्दछ – जनताको समाजवाद स्थापना गर्ने कि दलालहरूको ब्यवस्थालाई स्वीकार गर्ने माओवादी नेताहरुको परीक्षा सुरु भएको छ ।