मंसिर, १४ काठमाडौं : मोहन वैद्यको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्राकपाने)को एकता महाधिवेशनमा आधा दर्जनभन्दा बढी प्रतिवेदन प्रस्तुत भएका छन्।
शुक्रबार महाधिवेशनका संयोजक मोहन वैद्यले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ‘नयाँ जनवादी क्रान्ति’लाई समाजवादतर्फ उन्मुख गर्ने मूल कार्यदिशा अघि सारे। वैद्यले प्रतिवेदनमा विद्यमान राजनीतिक प्रणालीलाई परिवर्तन गर्दै जनवादी क्रान्तिको माध्यमबाट मात्र समाजवाद सम्भव हुने तर्क गरेका छन्।
२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टीबाट अलग हुँदै वैद्यले नयाँ पार्टी गठन गरेका थिए। दाहालले शान्ति प्रक्रियामा सम्झौता गर्दै नयाँ जनवादी क्रान्तिको बाटो छोडेको आरोपमा पार्टी विभाजन भएको थियो।
महाधिवेशनका क्रममा वैद्यले ‘सर्वहारा वर्गको अभिनायकत्व’मा आधारित जनवादी क्रान्तिको माध्यमबाट समाजवाद स्थापनाको खाका प्रस्तुत गरे। उनका अनुसार आवश्यकता परे बल प्रयोगमार्फत क्रान्ति अघि बढाउनुपर्ने रणनीति अवलम्बन गर्नुपर्ने छ।
बन्दशत्रमा विभिन्न नेताहरूले विषयगत प्रतिवेदन पेस गरेका छन्। सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, हेमन्तप्रकाश ओलीले नेपाली कम्युनिस्ट आन्दोलन, रामसिंह श्रीसले सांगठनिक पक्ष, सन्तबहादुर नेपालीले जलवायु, परि थापाले धर्म संस्कृति, पवनमान श्रेष्ठले जातीय सवाल, सीताराम तामाङले आर्थिक मुद्दा, र केबी गुरुङले उत्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन्।
शनिबारदेखि प्रतिवेदनहरूमा गहन छलफल हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ कार्यदिशासहित नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा करिब ६५० प्रतिनिधि सहभागी छन्।