कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी



मंसिर, १७ रुकुम पूर्व : पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनमा माओवादी केन्द्रले जित हासिल गरेको छ। माओवादीकी उम्मेदवार नरपुरा बुढाले सत्ता गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनलाई पराजित गर्दै ३ हजार ६ सय २७ मत ल्याएर विजयी भएकी हुन्।



कांग्रेस र एमालेबीच चुनावी तालमेल भए पनि कांग्रेसकी उम्मेदवार तुलाचनले केवल २ हजार १ सय २८ मत पाएकी थिइन्। तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य भए पनि उनले कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन्।



पालिकाभर कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको थियो। यसमध्ये ५ हजार ७ सय ५५ मत सदर भएका थिए भने १ सय ७६ मत बदर भएका थिए।
यो उपनिर्वाचन माओवादी केन्द्रका पूर्व उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा अध्यक्ष जसबहादुर सिर्पालीको जिप दुर्घटनामा निधनपछि भएको हो। वडाध्यक्ष पदमा भने माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन्।
माओवादीको निरन्तर सक्रियता
माओवादी जिल्ला संयोजक कुरमारी बरालका अनुसार निर्वाचित उपाध्यक्ष नरपुरा बुढा पार्टीका सक्रिय सदस्य हुन्। उनले अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि भूमिका निर्वाह गर्दै आएकी छन्। बरालले यो जितलाई पार्टीप्रतिको जनताको विश्वास र दिवंगत भूपेन्द्रा बुढाप्रति श्रद्धाञ्जलीको रूपमा पनि व्याख्या गरे।
यसअघि २०७९ को चुनावमा पनि माओवादीले उपाध्यक्ष पद जितेको थियो। नरपुरा बुढाले ४ हजार ५९ मत ल्याएर जित हासिल गरेकी थिइन्। यस पटक भने कांग्रेस र एमालेको गठबन्धनले चुनौती प्रस्तुत गरे पनि माओवादीले आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।
माओवादीको यो जितले गाउँपालिकाको राजनीतिक परिदृश्यमा नयाँ सन्देश दिएको छ। सत्तारूढ गठबन्धनलाई हराउँदै माओवादीले आफ्नो जनाधारलाई थप सुदृढ पारेको छ।