पुस, २ काठमाडौं : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति माग गरिएको छ।



कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार मंगलबार अदालतमा रवि लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, र जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि उपस्थित गराइएको हो। अदालतले म्याद दिनेबारे निर्णय गर्न बाँकी छ।



यसअघि, सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा ८४ दिनपछि सो प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ, जसमा ३७ जना फरार छन्। प्रहरीको रायअनुसार, उनीहरुमाथि १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ।



संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको र त्यसमा रवि लामिछानेको संलग्नता रहेको सिफारिस गरेको थियो।
यसै क्रममा छविलाल जोशीलाई ६ असोजमा र रवि लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो।