पुस २ डोटी : नेकपा एमाले डोटीको अध्यक्ष पदमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा मलासीले ४४ मतको अन्तरले शेरबहादुर मल्ललाई पराजित गरिन्। कुल ४१२ मतमध्ये मलासीले २१५ मत प्राप्त गरिन् भने मल्लले १७१ मतमा सीमित भए।



मञ्जु मलासीलाई एमालेका वरिष्ठ नेता भीम रावल निकट मानिन्छ भने उनका प्रतिस्पर्धी मल्ल केपी ओली पक्षका नेताका रूपमा चिनिन्छन्।



अन्य पदहरूमा पनि मञ्जु प्यानलको प्रभाव
उपाध्यक्षमा खगेन्द्र बडैला विजयी भएका छन्। उनले १११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि पारे। सचिव पदमा पनि मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २३७ मत ल्याउँदै जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले ११९ मत पाए।



उपसचिव पदहरूमा मञ्जु प्यानलको प्रभुत्व
उपसचिव (खुला) पदमा डम्मर डौडी १५२ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी बमबहादुर बमले १२३ मत ल्याए। उपसचिव (समावेशी) पदमा विस्ना सिंहले २०८ मत प्राप्त गर्दै विजय हासिल गरिन्।
यस निर्वाचनमा मञ्जु मलासी नेतृत्वको प्यानलले पार्टीको अधिकांश पदमा वर्चस्व जमाएको छ। पार्टीभित्रको शक्ति सन्तुलनलाई चुनौती दिँदै उम्मेदवारहरू अघोषित रूपमा प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका थए ।