पुष १९, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीले पार्टीले चुनावमा सहभागी हुने नीति लिँदा केही समूहहरु असन्तुलित भएको टिप्पणी गरेका छन्। शुक्रबार बागमती प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले लामो समयदेखि देशको स्रोतसाधनमा नियन्त्रण राख्दै आएका शक्तिहरुमा अस्थिरता देखिएको बताए।



विप्लवले चुनावलाई एकीकृत जनक्रान्तिका लागि अर्को मोर्चाका रूपमा उपयोग गर्ने बताउँदै संसदलाई समाजवादबारे गहन बहसको थलो बनाउने योजना रहेको प्रस्ट पारे। उनले भने, “अहिले संसदमा आरोप-प्रत्यारोप र असभ्य व्यवहार देखिन्छ। हामी यसलाई समाजवादी दृष्टिकोणमा आधारित बहसको थलो बनाउँछौँ।”



कार्यक्रम नेकपा प्रवक्ता प्रकाण्ड सीको अध्यक्षतामा सम्पन्न भएको थियो। पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले कार्यक्रम सञ्चालन गरेका थिए। दोलखा जिल्ला इन्चार्ज प्रेम सीले स्वागत मन्तव्य राखेका थिए भने आरोह सीले स्वागत गीत प्रस्तुत गरेर सहभागीहरुलाई सम्मान व्यक्त गरे।



कार्यक्रममा बेथान स्मृति दिवससमेत मनाइएको थियो। महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य विषम र सुशील सीले सहिदहरुको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु सीले बेथान स्मृति दिवसको महत्त्व र महिलाहरुको बलिदानबारे चर्चा गरिन्।