माघ २, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाको नेतृत्वमा भइरहेको एकता र ध्रुवीकरण कुनै भ्रष्टाचार, दरबार, वा टि-इस्टेट कब्जा गर्नका लागि नभई जनताको पक्षमा रहेको स्पष्ट पारेका छन्।



काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कम्युनिस्ट क्रान्तिकारीहरूको ध्रुवीकरण कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीको उद्देश्यलाई जोडदार रूपमा प्रस्तुत गरे। उनले भने, “यो एकता भ्रष्टाचार गर्ने, दरबार खान, टि-इस्टेट कब्जा गर्न, सरकारको सम्पत्ति हिनामिना गर्न, वा देशको धन विदेशमा लुकाउनका लागि होइन। यो जनताको हितमा रहेको छ।”
उनले हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार सुरु भएको ध्रुवीकरणलाई महत्वपूर्ण कदमको रूपमा चित्रित गरे। “आजको यो कार्यक्रम सुरुआत मात्र हो। यसले जनताको नेतृत्व गर्ने, उनीहरूका हक अधिकारको रक्षा गर्ने हाम्रो उद्देश्यलाई स्पष्ट पार्छ,” उनले थपे।
महासचिव विप्लवले माओवादी केन्द्रको विगतको सत्तारोहणलाई पनि टिप्पणी गरे। “माओवादी केन्द्र गणतन्त्रपछि लगातार सत्तामा रहँदा र तीनपटक प्रधानमन्त्री हुँदा जनताले के पाए? अब फेरि बहुमत ल्याउँदा के पाइन्छ भन्ने प्रश्न जनतामा छ,” उनले भने।
उनले नेकपाले सत्ताको नेतृत्व र सेवा गर्ने दृढता व्यक्त गरे। “हामी क्रान्तिकारीहरूबीचको ध्रुवीकरणलाई सशक्त बनाउँदै देशको नेतृत्व गर्नेछौं। नेकपाले स्वाधीनता र जनताको अधिकारलाई प्राथमिकतामा राखेको छ।”
महासचिव विप्लवले पार्टीले विगतमा संसद र मन्त्रीका जिम्मेवारी पूरा गरे पनि जनताको स्वाधीनता र अधिकारमाथि आँच आउँदा त्यो सबै त्यागेको स्मरण गरे। “जब जनताको अधिकार खोस्ने षड्यन्त्र भयो, हामीले संसद र मन्त्रीको पदलाई परित्याग गर्यौं। यो हाम्रो प्रतिबद्धताको प्रमाण हो,” उनले भने।
उनका अनुसार, हाल नेकपामा संसद र मन्त्री पदमा रहेका धेरै पूर्व नेताहरू आबद्ध छन्। नेकपाले देशको भविष्यलाई नेतृत्व दिने उद्देश्यका साथ क्रान्तिकारीहरूलाई एकताबद्ध गरिरहेको छ।