माघ १४, काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अर्ति दिने मात्र होइन, उत्पादनमा प्रत्यक्ष जोडियर जनतालाई श्रम गर्न सिकाउने राजनीतिक आवश्यक भएको बताएका छन्।



नेकपाले सोमबार बुढानिलकण्ठमा सुरु गरेको सी व्यापार केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले नेपालका कम्युनिष्टहरूले आफ्नै अर्थ दृष्टिकोण र उत्पादनमा जोड नदिँदा राजनीतिकसँगै आर्थिक समस्या उत्पन्न भएको उल्लेख गरे।



महासचिव विप्लवले नेपालको प्राकृतिक साधन र श्रोतलाई उत्पादनमा लगानी गरेर मात्रै आर्थिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे। उनले समाजवादले पुँजीवादसँग हारेको मुख्य कारण आर्थिक दृष्टिकोणको अभाव भएको बताए।



उनले भने, “हामीले उच्च व्यापारीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौं। एउटा व्यापारीले गर्न सक्छ भने हामी किन सक्दैनौं? हाम्रो उत्पादन जनतालाई सस्तो र सुपथ मूल्यमा उपलब्ध गराउनेछ। चन्दा उठाएर होइन, श्रमको आधारमा बनाएका हौं। अब झोला बोक्ने मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ।”
उनले पार्टीका सदस्यहरूलाई २४ घण्टा राजनीति गर्नुको सट्टा उत्पादन र श्रममा समय दिन आग्रह गर्दै उत्पादनमै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
राजनीतिक परिवर्तनको दाबी
महासचिव विप्लवले आगामी २०८४ साल नेपालको राजनीतिक क्षेत्रमा परिवर्तनकारी हुने दाबी गरे। उनले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने र नेपाली राजनीतिलाई धरातलमा ल्याउने उद्देश्य रहेको बताए।
उनले भने, “नेपाली जनताले समाजवादी दृष्टिकोणबाट विकास हेर्ने अवसर पाउनुपर्छ। आगामी निर्वाचनमा समाजवादी शक्तिहरू एकताबद्ध भएर सहभागी हुनेछौं।”
दलाल पुँजीवादप्रति आक्रोश
महासचिव विप्लवले नेपालको मुख्य समस्या दलाल पुँजीवाद र यसलाई संरक्षण गर्ने शक्तिहरू भएको बताए। उनले यसलाई अन्त्य गर्न अग्रगामी मित्र शक्तिहरूसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनको भनाइमा, “नेपालमा जनताको सत्ता छैन, जनताको सत्ता नैसर्गिक अधिकार हो। सत्ता मागेर होइन, संघर्ष गरेर प्राप्त गर्नुपर्छ।”
विप्लवले उत्पादनमा आधारित राजनीति मात्र समस्याको समाधान हुने धारणा राख्दै श्रम र उत्पादनको महत्वलाई प्राथमिकतामा राख्न सबैलाई आह्वान गरे।