माघ १६,काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले देशको विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति साँचो श्रद्धाञ्जली हुने बताएका छन्।



शहीद दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, दिगो शान्ति, सुशासन, र समृद्धि प्राप्त गर्न लागिपर्ने प्रतिबद्धताले मात्र शहीदहरूको बलिदानको सम्मान हुने उल्लेख गरेका छन्।



राष्ट्रपतिले शहीद दिवसले हरेक नागरिकलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। “जनता र राष्ट्रको हितका लागि आफ्नो जीवन समर्पण गर्नु नै सहादत हो,” उनले भने, “यस दिवसले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, र सम्बन्धित सबैलाई शहीदहरूको सपना साकार पार्न समर्पित हुने हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु।”



यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना व्यक्त गर्दै सामाजिक तथा आर्थिक रूपले स्वावलम्बी र समृद्ध नेपाल निर्माणका लागि शहीदहरूको बलिदान सबैका लागि प्रेरणादायी भएको उल्लेख गरे।
नेपालको सार्वभौमसत्ता र लोकतान्त्रिक अधिकारको रक्षा गर्न जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था, र राजतन्त्रविरुद्ध भएका संघर्षहरूमा बलिदान दिने शहीदहरूको सम्मानमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ।