बैंकक, चैत २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भेटवार्ता गरेका छन्।
यसअघि दुवै नेता बिहीबार साँझ बैंककमै बिम्सटेकको आयोजक राष्ट्र थाइल्यान्ड सरकारले आयोजना गरेको रात्रिभोजमा पनि सँगै देखिएका थिए।
प्रधानमन्त्री ओली र मोदीबीच यसअघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको क्रममा संक्षिप्त भेट भएको थियो। यद्यपि, दुई पक्षीय महत्वका विभिन्न विषयमा छलफल भए पनि पूर्वनिर्धारित छुट्टै वार्ता भने हुन सकेको थिएन।
प्रधानमन्त्री कार्यालयले जनाएअनुसार दुई नेताहरूबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भइरहेको छ। वार्तामा दुवै देशका परराष्ट्रमन्त्रीहरू – नेपालबाट आरजु राणा र भारतबाट एस जयशंकर – सहितको टोली सहभागी छ।
