मान्मा, चैत्र २४ – नेपाल कम्युनिष्ट पार्टी कालिकोटले प्रतिगमन र यथास्थितिवादका विरुद्ध जिल्ला सदरमुकाम मान्मामा जनप्रदर्शन गरेको छ।
आज भएको प्रदर्शनमा सहभागीहरू जिरो पवाइन्टबाट जुलुस सुरु गरी बजारका विभिन्न भाग परिक्रमा गर्दै प्रतिमा चोकमा पुगेर विरोध सभामा परिणत भएका थिए।
नेकपाका नेता सीसीएम क. साहसीले संचालन गरेको विरोध सभालाई पार्टीका जिल्ला इन्चार्ज क. विवेक सी र क. रणदिपले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा नेताहरूले प्रतिगमनलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउँदै अग्रगमनको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिए। उनीहरूले अहिलेको राजनीतिक निकास भनेको नेपाली विशेषताको समाजवाद भएको उल्लेख गर्दै फेरि सामन्ती शक्तिहरूले चलखेल गर्न खोजेको आरोप लगाए। सबै गणतन्त्रवादी र समाजवादी शक्तिहरू एकजुट भएर प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।


