रास्कोट, कालिकोटमा नेकपा (माओवादी केन्द्र) मा आबद्ध पाँच जना महिलाले पार्टी परित्याग गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा प्रवेश गरेका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्कोटको दोस्रो भेलामा उनीहरूले माओवादी केन्द्र छोडेर नेकपा समर्थित महिला संगठनमा समाहित भएका हुन्।
नेकपाको महिला संगठनमा प्रवेश गर्नेहरूमा रास्कोट नगरपालिका वडा नम्बर ८ का कोपिला विक, पूजा टमट्टा, गोमा टमट्टा, रमिता विक र रास्कोट नगरपालिका वडा नम्बर ५ की सविता तिरुवा रहेका छन्।
उनीहरूले नेकपा (माओवादी केन्द्र) जनतामा अलोकप्रिय बन्दै गएको र सत्तामा पुगेपछि जनयुद्धको भावनाविपरीत कार्य गरेको आरोप लगाएका छन्। साथै, उनीहरूले समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने नेता विप्लवलाई मात्र देखेकोले नेकपामा प्रवेश गरेको बताएका छन्।
नवप्रवेशी महिलाहरूले नेपालको अधुरो क्रान्तिको नेतृत्व विप्लवबाहेक अरू कसैले गर्न नसक्ने ठहरमा पुगेकोले नेकपा र यसको भातृ महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा आबद्ध भएको जिकिर गरेका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव राजकुमारी सी र नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीले नवआगन्तुकहरूलाई फूलमाला र अबिर लगाई स्वागत तथा बधाई दिएका थिए।


