गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके उनी तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर भागेपछि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो।
प्रसाईंको सचिवालयले भने उनले आफ्नो सुरक्षाका लागि भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ।
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए। प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेज पुगेको खुलेको थियो। त्यहाँबाट उनी भारततर्फ लागेका थिए।
प्रहरीले उनको पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकीस्थित अड्डा फेला पारेको थियो। बिहीबार अपराह्न उनले आसाममा आत्मसमर्पण गरेको सचिवालयले जनाएको छ। प्रहरीले भने उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको बताएको छ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ। तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी हाँकेकाले उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने प्रहरी अधिकृतले बताएका छन्।


