वीरगञ्ज, चैत्र ३० गते – वीरगञ्जमा आज विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। घटनापछि स्थानीय प्रशासनले आज साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
अपराह्न करिब ४ः५० बजे महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि शोभायात्रा पुग्दा दुई समूहबीच तनाव उत्पन्न भएको थियो। प्रहरीका अनुसार मस्जिदको दिशाबाट शोभायात्रामा सहभागीहरूलाई ढुंगा प्रहार भएपछि झडपले उग्र रूप लिएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी भएको छ भने सोही स्थानमा एक पसलबाट फ्रिज बाहिर निकालेर जलाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएका आठ जना प्रहरी कर्मचारी घाइते भएका छन्, जसमध्ये तीन जनाको नारायणी क्षेत्रीय अस्पतालमा उपचार जारी छ। अवस्था थप असामान्य बन्दै गएपछि प्रहरीले करिब ६ बजेर १० मिनेटमा पानीको फोहोरा प्रयोग गरी भीडलाई तितरबितर पारेको थियो।
यद्यपि, स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज साँझ ६ः३० बजेदेखि भोलि चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रशासनले एक सूचना जारी गर्दै अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूलाई आवश्यक कागजात र परिचयपत्रसहित मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ। कर्फ्युको उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यस घटनाले वीरगञ्जमा थप तनाव सिर्जना गरेको छ र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


