काठमाडौं, ३ वैशाख – सरकारले संघीय संसद्को वर्षे अधिवेशन आगामी वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पत्रकारहरूलाई जानकारी दिँदै अधिवेशन आह्वानको सिफारिस विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीसँग जोडिएको बताइन्।
विधेयक पारितको तयारी
सरकारले संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य चाँडो पारित गर्ने उद्देश्यले अधिवेशन बोलाइएको स्पष्ट पारेको छ। उक्त विधेयक पारित गर्नका लागि आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टराईले बताइन्।
शिक्षक आन्दोलनसँग सम्बन्ध
हाल राजधानीमा विभिन्न माग राख्दै आन्दोलनरत शिक्षकहरूसँगको विषयलाई समाधानतर्फ लैजान संसद् अधिवेशनले सहयोग पुर्याउने सरकारको विश्वास रहेको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने प्रक्रिया अगाडि बढाउन अधिवेशनको माध्यम उपयोग गर्न खोजेको बताइएको छ।


