भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन ‘यागी’ र त्यसपछि आएको बाढी तथा पहिरोले ८२ जनाको ज्यान गएको छ। देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार, मंगलबार दिउँसोसम्म ६४ जना बेपत्ता भएका छन्।






सर्वाधिक क्षति हिमाली प्रान्त काओ बाङमा भएको छ, जहाँ १९ जनाको मृत्यु भएको र ३६ जना अझै बेपत्ता रहेका छन्। अन्य प्रभावित क्षेत्रहरूमा लाओ काईमा १९, येन बाईमा २२, र क्वाङ निन्हमा ९ जनाको मृत्यु भएको बताइएको छ। राजधानी हनोई सहित हाई फोङ शहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ, र लाइ चाउ प्रान्तमा पनि जनधनको क्षति भएको छ।



मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम विभागका अनुसार, शक्तिशाली आँधी र बाढीले तटीय प्रान्त क्वाङ निन्ह र हाई फोङ सहरमा करिब ४८ हजार ३३७ घरमा क्षति पुर्याएको छ। उत्तरका यी क्षेत्रमा आगामी मंगलबार र बुधबार पानीको बहाव बढ्ने सम्भावना रहेको जनाइएको छ।