फागुन २६, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर भएका छन्। एक करोड रुपैयाँ धरौटीमा रिहा भएका लामिछानेलाई अदालतले वैशाख २३ गते अर्को तारेख तोकेको छ।
अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछाने सोमबार तारेख बुझ्न अदालतमा उपस्थित भएका थिए। सुप्रिम सहकारी ठगी र संगठित अपराधमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।
यसअघि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दिएको छ। लामिछानेले पनि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा साधारण तारेखको माग गर्दै पुनरावेदन दर्ता गराएका छन्।
बिज्ञापन


